काँग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छः पुष्पा भुसाल

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने बताएकी छन् ।
काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हुन् ।
उनले आफूहरु गुट नचिन्ने र कृपा नमान्ने जिकिर गरिन् । उनले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताइन् । ‘हामी चाहन्छौँ अब नेपाली काँग्रेस गुटबाट मुक्त हुनुपर्छ । नेपाली काँग्रेसको यो कुरु क्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ । नेपाली काँग्रेस अब कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ । हामी काँग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ’ उनले भनिन् ।
उनले युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने तथा महिलालाई सबै प्रकारको हिंसाबाट मुक्त गर्ने सन्देश महाधिवेशनले दिनुपर्नेमा जोड दिइन् ।









