ध्वंश र अराजकता त्यागेर राष्ट्र निर्माणमा जुट्न अध्यक्ष ओलीको आह्वान

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीका अवसरमा देशवासीलाई शुभकामना दिँदै मुलुकमा व्याप्त नकारात्मक र विनाशकारी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश प्रवाह गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले समाजमा देखिने गरेका ध्वंश, आगजनी र अराजक गतिविधिलाई पूर्ण रूपमा अन्त्य गरी सिर्जनात्मक सोचका साथ अघि बढ्न अपिल गरेका हुन् । अध्यक्ष ओलीले राष्ट्र निर्माणका लागि नागरिकमा विकास र संरक्षणको मनोबल उच्च हुनुपर्ने धारणा राखेका छन् । उनले भनेका छन्, ‘ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं ।’

एकता दिवसको सन्दर्भमा उनले सबै नेपालीलाई राष्ट्रिय एकताको सुत्रमा बाँधिएर देशको समृद्धिका लागि योगदान पुर्‍याउन समेत आग्रह गरेका छन् । आज देशभर नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदैछ । विक्रम संवत् १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले स–साना राज्यमा छरिएर रहेको भूगोललाई एकीकृत गरी आधुनिक नेपालको जग बसालेका थिए । सोही योगदानको कदर गर्दै आजको दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =