पद र प्रतिष्ठाको टकरावले तुहियो रवि-कुलमान एकता

काठमाडौं । वैकल्पिक राजनीतिको हुंकारसहित एकताबद्ध भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको सहकार्य १२ दिनमै भंग भएको छ । गत १४ पुसमा तामझामसहित गरिएको सातबुँदे एकता सहमति दुई साता पनि नटिक्दै शनिबार विधिवत रूपमा तोडिएको हो ।
सहमति भङ्ग भएसँगै दुवै पक्षले एक-अर्कालाई ‘धोका दिएको’ र ‘अहंकार देखाएको’ गम्भीर आरोप लगाएका छन् । एकता प्रक्रिया टुंगिएपछि उज्यालो नेपाल पार्टीका संरक्षक रहेका कुलमान घिसिङ तत्कालै सो पार्टीको अध्यक्ष बनेका छन् भने पूर्वअध्यक्ष अनुपकुमार उपाध्यायलाई संरक्षकको जिम्मेवारी दिइएको छ ।
शुक्रबार र शनिबार रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच भएको सघन वार्ता निष्कर्षमा पुग्न नसकेपछि अलग हुने निर्णयमा पुगेको हो ।
रास्वपा पक्षले कुलमान घिसिङको ‘अस्वाभाविक महत्त्वाकाङ्क्षा’ र ‘बार्गेनिङ’ का कारण एकता टिक्न नसकेको दाबी गरेको छ । रास्वपाको सचिवालय बैठकमा सभापति लामिछानेले ब्रिफिङ गर्दै भने, ‘उहाँ (कुलमान) ले दिनहुँ नयाँ-नयाँ सर्त तेर्साउनुभयो । कहिले वरिष्ठ उपसभापति र महामन्त्री चाहियो भन्ने, कहिले केन्द्रीय समितिमा ३० जना र प्रत्यक्षमा आफ्ना मान्छेले टिकट पाउनुपर्ने अडान राख्ने । सिद्धान्त र नाम नै फेर्नुपर्नेसम्मका माग आएपछि सहकार्य सम्भव भएन ।’
लामिछानेले पार्टी आफूले हाँक्ने, सरकारको नेतृत्व (प्रधानमन्त्री) बालेन शाहलाई दिने र विकास निर्माण तथा भौतिक पूर्वाधारको कमान्ड कुलमानले सम्हाल्ने गरी प्रस्ताव गर्दा पनि घिसिङले अस्वीकार गरेको रास्वपाको दाबी छ ।
हामीलाई प्रयोग गरेर फालियो : कुलमान
यता, नवघोषित अध्यक्ष कुलमान घिसिङले भने रास्वपाले आफूहरूलाई समानुपातिक सूचीका लागि मात्र प्रयोग गरेको र अन्तिममा धोका दिएको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलन गर्दै घिसिङले भने, ‘हामीले जेन–जी (नयाँ पुस्ता) को भावना कदर गर्दै निःशर्त एकता चाहेका थियौं । तर, समानुपातिक सूची बुझाउने बेलासम्म हामीलाई अलमल्याइयो । अहिले आएर सहमति कार्यान्वयन गर्नुको साटो एकतर्फी रूपमा भंग गरिएको घोषणा गरियो । यो १२ दिन हाम्रा लागि निकै पीडादायी रह्यो ।’
घिसिङका अनुसार संविधान, संघीयता र समावेशिताका विषयमा पूरक सहमति गर्ने बाचाबाट रास्वपा पछि हटेको थियो । उनले रास्वपाको बन्दसूचीमा रहेका आफ्ना १८ जना उम्मेदवारको भविष्य अन्योलमा परेको भन्दै आक्रोश पोखे । ‘मैले कुनै ठूलो पद मागेको थिइनँ, तर विधि र पद्धतिको कुरा गर्दा हामीलाई पाखा लगाइयो,’ घिसिङले भने ।
रास्वपासँगको ‘च्याप्टर क्लोज’ भएपछि उज्यालो नेपाल पार्टीले एक्लै चुनावी मैदानमा जाने निर्णय गरेको छ । शनिबार बसेको आकस्मिक बैठकले देशैभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने र संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
सुशासन, मेरिटोक्रेसी (योग्यतातन्त्र) र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिएर जोडिएका दुई शक्तिबीचको यो विग्रहले वैकल्पिक राजनीतिमा तरंग ल्याएको छ । उज्यालो नेपालका नेताहरूले सुधन गुरुङलगायतका अभियन्ताले जबर्जस्ती मिलाएको र अहिले रास्वपाले ‘युज एण्ड थ्रो’ को नीति लिएको गुनासो गरेका छन् । केही दिनअघि मात्रै घिसिङले मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन हुने घोषणा गरेका थिए । अहिलेको विकसित घटनाक्रमले आसन्न निर्वाचनको समीकरणमा नयाँ मोड ल्याइदिएको छ ।









