विशेष महाधिवेशन उद्घाटनअघि ६ स्थानबाट जुलुस निकाल्दै कांग्रेस, कुन जिल्लाको कहाँबाट ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आज (आइतबार) राजधानीमा शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गर्दैछ । भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनको औपचारिक उद्घाटन सत्रलाई भव्य बनाउन आयोजक समितिले काठमाडौंका विभिन्न ६ मुख्य स्थानबाट विशाल जुलुस निकाल्ने तयारी गरेको हो । 

मध्याह्न १२ बजे तय भएको उद्घाटन समारोहअघि बिहान ११ बजेदेखि नै राजधानीका विभिन्न चोकबाट र्‍यालीहरू भृकुटीमण्डपतर्फ अघि बढ्नेछन् । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार सुन्धारा, रत्नपार्क, कुपण्डोल, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीलाई ‘फोकस प्वाइन्ट’ तोकेर नेता-कार्यकर्ताको जमघट गराइनेछ ।

कुन जिल्लाको जुलुस कहाँबाट ?
आयोजकको तयारी अनुसार सुन्धारामा चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिमका जिल्लाहरू र काठमाडौं क्षेत्र नं. ८, ९ र १० का कार्यकर्ता भेला भएर वीर अस्पताल हुँदै अघि बढ्नेछन् । यस्तै, नुवाकोट, रसुवा, धादिङ र काठमाडौंको उत्तरी भेगसहित क्षेत्र नं. ५, ६ र ७ का सहभागीहरू रत्नपार्कबाट जुलुससहित भृकुटीमण्डप प्रवेश गर्नेछन् ।

मधेश प्रदेशका (धनुषादेखि पर्सासम्म) ८ जिल्ला र बाँके-बर्दियाबाट आएका सहभागीहरूका लागि बागबजारस्थित पद्मकन्या क्याम्पस चोक तोकिएको छ । भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र काठमाडौं क्षेत्र नं. २ र ३ का कार्यकर्ताहरू पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि जम्मा हुनेछन् ।

यसैगरी, काठमाडौं क्षेत्र नं. १ र ४ का कार्यकर्ता कमलपोखरीबाट डिल्लीबजार-पुतलीसडक हुँदै र ललितपुर तथा मकवानपुरबाट आउने सहभागीहरू कुपण्डोलबाट थापाथली-त्रिपुरेश्वर-सुन्धारा हुँदै मूल समारोहस्थल भृकुटीमण्डप पुग्ने कार्यतालिका छ ।

सबै नाकाबाट निस्कने जुलुस महाधिवेशनस्थलमा प्रवेश गरेपछि औपचारिक कार्यक्रम सुरु हुने र आजै बन्दसत्रसमेत सञ्चालन गरिने सचिवालयले जनाएको छ। महाधिवेशन भोलि (सोमबार) सम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =