रवि र कुलमानलाई महावीरले भने: ‘तिमीहरूको यस्तै पारा हो भने म अगाडी बढ्छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया औपचारिक रूपमा तोडिएपछि शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमा कटाक्षपूर्ण स्टाटस लेखेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै पुनले युवा नेताहरूबीच तानातान भइरहेको संकेत गरेका छन् । उनले पदका लागि हतार गर्दा पुराना नेताहरूको जस्तै अवस्था दोहोरिन सक्ने भन्दै अप्रत्यक्ष चेतावनी दिएका छन् ।
‘ढंग नपुग्दै आएर हाउ 😡 प्रधानमन्त्री पदको लागि युवा नेता भाइहरू किन तानातान गरिरहेका छन् हाउ लाग्छ ? त्यो त पुरानै वृद्ध नेताहरूको जस्तै पारा भयो नि,’ पुनले लेखेका छन्, ‘आफ्नो खुट्टामा आफैंले बन्चरो नहान्नु त । यो भनेको फुटेर होइन जुटेर नगर्ने समय हो ।’
उनले एकता र सहकार्यको आवश्यकतामा जोड दिँदै आपसी विभाजनले अगाडि बढ्न नसकिने उल्लेख गरेका छन् । ‘तिमीहरूको यस्तै पारा हो भने म अगाडि बढ्ने छु । लौ मिलेर काम गर त भाइहरू,’ भन्दै पुनले लेखेका छन् ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच केही समयदेखि एकताका लागि छलफल चलिरहेको थियो । तर नेतृत्व र पद बाँडफाँटलाई लिएर सहमति जुट्न नसकेपछि एकता प्रक्रिया तोडिएको हो ।









