उज्यालो नेपाल पार्टीसँगको सहमति अनुमोदन नगर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच २०८२ पुस १४ गते सम्पन्न सहमति रास्वपाले अनुमोदन नगर्ने निर्णय गरेको छ ।

आज बसेको रास्वपाको सचिवालयको आकस्मिक बैठकले उक्त सहमति अनुमोदन नगर्ने निर्णय गरेको हो ।

रास्वपाले पछिल्लो समय सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच वृहत् सहकार्यमार्फत मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरूसँग संवाद र सहकार्यको सम्भावना खोज्दै आएको जनाएको छ ।

यही क्रममा उनेपासँग सहमति भए पनि त्यसपछि मूल सहमतिको परिमार्जन र थप पूरक सहमतिका लागि उनेपाबाट निरन्तर प्रस्तावहरू आएको र शीर्ष तहमा पटक–पटक छलफल भएको रास्वपाको भनाइ छ ।

रास्वपाले नयाँ राजनीतिक शक्तिहरूको ऐतिहासिक जिम्मेवारी सत्ता–केन्द्रित अंकगणित मिलाउने वा शक्ति बाँडफाँड गर्ने नभई लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिमा आधारित शासन, सामाजिक न्याय र समावेशी समुन्नतिप्रति साझा प्रतिबद्धता निर्माण गर्नु रहेको स्पष्ट गरेको छ ।

यसै आधारमा पार्टीले सहमति अनुमोदन नगर्ने निर्णय गरेको भए पनि लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा उभिएका सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूसँग संवाद निरन्तर जारी रहने जनाएको छ ।

साथै आगामी निर्वाचनमा स्थापित दलहरूको जडता, स्वार्थ–केन्द्रित राजनीति र असफल शासन संस्कृतिलाई चुनौती दिने बलियो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा रास्वपालाई अगाडि बढाउन आम सदस्य, शुभेच्छुक र परिवर्तन चाहने सबैलाई जोड्ने प्रयास जारी रहने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।

१२ दिनको सहकार्यको यात्रा अनुमोदन नभए पनि उनेपाको नेतृत्व र सम्पूर्ण संगठनको आगामी राजनीतिक यात्राका लागि सफलताको कामना गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =