विध्वंस र पपुलिजम अग्रगामी विकल्प होइन: केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरूको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरू एकजुट भएको बताएका छन् ।

एमालेको शनिवार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको एकताप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंशलाई वैधता दिने शक्तिहरू एकजुट भएको उनको आरोप छ । उनले ‘पुराना दल’ र ‘नयाँ दल’ बीचको ध्रुवीकरणको रूपमा बहस गरिए पनि वास्तविक ध्रुवीकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंशलाई वैधता दिने कि नदिने भन्नेहरूको बीचमा भएको दाबी गरे ।

लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाबाट मात्रै बलियो हुने बताए । उनले हाल विचारविहीन, सार्वजनिक जबाफदेहिताविहीन र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू सङ्गठित भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थामाथि चुनौती दिइरहेको आरोप लगाए । उनले ‘अवतारी नायक’ जन्मिएर सबै समस्या तुरुन्त समाधान हुन्छ भन्ने भ्रम फैलाइँदै गएकोप्रति सचेत रहन पनि आग्रह गरे ।

विध्वंस र पपुलिज्म कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने उनको दाबी छ । उनले पपुलिज्मले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणाली कमजोर बनाउने बताए । पपुलिजमले सत्तामा पुग्न जस्तोसुकै भावना बेच्ने हुँदा नेपालमा गम्भीर भूराजनीतिक जोखिम समेत निम्त्याउन सक्ने उनले चेतावनी दिए ।

उनले भने ‘राजनीतिक ध्रुवीकरण पनि तीव्र भएको छ । एकातिर ‘पुराना दल’ र अर्कातिर ‘नयाँ दल’ बिचको ध्रुवीकरण भनेर चर्चा गरिए पनि यतिबेला मुलुकको राजनीति कुनै राजनीतिक दर्शन, विचारधारा या मुद्दामा होइन, भदौ २४ को विध्वंशलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनर्स्थापित गर्ने भन्ने विषयमा राजनीति ध्रुवीकृत हुन थालेको छ । धम्की, घृणा, निषेध र हिंसाको बलमा लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि र आफूहरूले गराएकै निर्वाचनका माध्यमबाट पनि लोकतान्त्रिक शक्तिहरूले पुनरागमन गर्ने देखेपछि विध्वंशका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको अवस्था छ । राजनीतिक पार्टीहरूकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुन्छ । तर यतिबेला विचारविहीन, कुनै सार्वजनिक जबाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरूलाई चुनौती दिइरहेको अवस्था छ । कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरूले हेर्दा हेर्दै समस्याहरूको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदै छ । तर न त विध्वंस आन्दोलन हो, न ‘पपुलिज्म‘ नै अग्रगामी विकल्प । ‘पपुलिज्म‘ ले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र पपुलिज्म, सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंस र यही हो सिलसिला १ थप समस्या जन्माउँदै जान्छ । सत्तामा जान जस्तोसुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरूले हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन् । त्यसैले यतिबेला भदौ २४ को विध्वंसको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत् र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्त्वहरूबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ ।’

उनले विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट तत्त्वहरूबाट जनतालाई भ्रममुक्त गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =