कार्यकर्तालाई ओलीको निर्देशन- ‘निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनुस्’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

एमालेको शनिवार आयोजित केन्द्रीय कमिटीको बैठकमा उनले निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले निर्वाचनको वातावरण बनी नसकेको भएपनि निर्वाचन गर्नुपर्ने बताए । नेताहरूलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्दै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए ।

उनले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गरे । उनले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाव दिए ।

उनले भने ‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन । अहिले पनि राजनीतिक दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयासको परित्याग गर्ने अवस्था बनिसकेको छैन । निर्वाचनको वातावरण बनेको छैन । हामीले सर्वदलीय रूपमा पनि कुराहरू अभिव्यक्ति गरेका छौँ र सरकारका प्रतिनितिहरुको बातचितमा पनि हामीले यी कुराहरू उठाइरहेका छौँ । तर अझै पनि निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनेको छैन । पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा त जानैपर्छ । त्यसको लागि पार्टी हमेशा तयार छ । केन्द्रीय समितिको यो बैठक सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनको लागी महेशा तम्तयार रहन र यसको लागी आवश्यक तयारी गर्न आह्वान गर्छ । सबै साथीहरूले ध्यान दिनुपर्छ । निर्वाचन हुन त हुन्छ, कतिवेला हुन्छ ? जतिबेला भएपनि हामी निर्वाचनमा सहभागी हुनैपर्छ । फागुन २१ मा नै हुन पनि सक्छ । एउटा कुरामा हामीले भनेका छौँ र फेरि भन्छौँ । चरण चरणमा विभिन्न चरणमा गर्ने फागुन २१ मा सुरु गरेर भन्ने अनेक प्रकारका खेलहरू स्वीकार्य छैन । एकै चरणमा निर्वाचन हुनुपर्छ । जे गर्ने हो, न्यूनतम राजनीतिक सहमतिको साथ निर्णय गर्नुपर्छ । अराजकता, स्वेच्छाधारी ढङ्गले निर्णयहरू हुन सक्छन्, यसमा हामी चनाखो हुनुपर्छ । हामीले सरकारलाई पनि सचेत गराएका छौँ, जतिबेला भए पनि हामी निर्वाचनको लागि तयारी अवस्थामा छौँ ।’

उनले समानुपातिक निर्वाचनको लागी पार्टी सर्व सहमतिले बन्द सूचिमा नाम सिफारिस गरेको जानकारी दिए । प्रत्यक्ष निर्वाचनको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटीमा केही विवाद देखिएको उल्लेख गर्दै उनले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =