नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ । समसामयिक राजनीतिक परिस्थिति र आन्तरिक विषयमा छलफल गर्न भन्दै कांग्रेसले आज बिहान ९ बजेका लागि बैठक डाकेको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचना अनुसार, बैठक ललितपुरस्थित पार्टी मुख्यालय बीपी स्मृति भवनमा बस्नेछ । उक्त बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिको निर्देशन दिइएको छ ।
पार्टीभित्रको संस्थापन इतर पक्षले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनको तयारी गरिरहेको चर्चा चलिरहँदा नेतृत्वले बोलाएको यो ‘इमर्जेन्सी’ बैठकलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । संस्थापन पक्षले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक रणनीति तय गर्न यो बैठक बोलाएको अनुमान गरिएको छ ।









