शिक्षामन्त्री महावीर पुनको आक्रोश: विदेश घुमेर अर्थतन्त्र बन्छ ?

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताप्रति लक्षित गर्दै विदेश भ्रमणको कडा आलोचना गरेका छन् । शुक्रबार आफ्नो फेसबुकमा पोस्ट गर्दै मन्त्री पुनले नाम नलिई गुप्ताको अमेरिका भ्रमणलाई व्यंग्य गरेका हुन् ।
मन्त्री पुनले लेखेका छन्, “लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गईन । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्न । देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ??😡😡😡”
उनको यो पोस्टलाई धेरैले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिकामा हुने भनिएको भ्रमणप्रति लक्षित गरेको बुझेका छन् ।
देशको आर्थिक अवस्था कमजोर रहेको बेला मन्त्रीहरूको विदेश भ्रमण अनावश्यक भएको भन्दै मन्त्री पुनले आफू भने कुनै पनि विदेश भ्रमणमा नजाने अडान व्यक्त गरेका छन् ।









