कांग्रेसको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको तीव्र ध्रुवीकरणकाबीच आज (शुक्रबार) आयोजना गरिएको विशेष पत्रकार सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । तर, निर्धारित समयभन्दा केहीअघि मात्रै मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका हुन् ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘विशेष महाधिवेशन’ आह्वान गरेपछि कांग्रेसभित्र नयाँ तरङ्ग पैदा भएको छ । महामन्त्रीहरूको यो कदमलाई संस्थापन पक्षले पार्टी विधानविपरीत भएको ठहर गरेको छ ।
कार्यसम्पादन समितिले निर्णय नै गरेर महाधिवेशन प्रतिनिधिहरूलाई महामन्त्रीद्वयले बोलाएको भेलामा उपस्थित नहुन निर्देशन दिइसकेको अवस्था छ । महामन्त्रीहरूको ‘विद्रोह’ र संस्थापन पक्षको ‘प्रतिवाद’काबीच आधिकारिक धारणा सार्वजनिक गर्न आजको पत्रकार सम्मेलन तय गरिएको थियो ।
विशेष महाधिवेशनको औचित्य नरहेको र नियमित महाधिवेशनबाटै पार्टी सुधार गर्नुपर्ने सन्देश दिन कार्यवाहक सभापति खड्काले यो सम्मेलन डाकेका थिए । स्रोतका अनुसार, पत्रकार सम्मेलनमा नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताहरूलाई समेत उपस्थित गराएर नेतृत्व एकढिक्का रहेको सन्देश दिने तयारी थियो ।
बिहीबार मात्रै डा. कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरी हतारमा विशेष महाधिवेशनमा जाँदा पार्टी एकतामा आघात पुग्ने भन्दै विवाद मिलाउन आग्रह गरेका थिए । तर, अन्तिम समयमा आएर पत्रकार सम्मेलन स्थगित हुनुले पार्टीभित्रको सहमतिको प्रयास वा रणनीतिक योजनामा बदलाब आएको अनुमान गरिएको छ ।










