बालेन शाह र सुदन गुरुङबीच गोप्य छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी आन्दोलनका प्रमुख अगुवा तथा ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङबीच बिहीबार छलफल भएको छ ।
छलफल मेयर बालेनका निकट सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित निवासमा भएको हो । छलफलको विषय गोप्य राखिएको छ र यसबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।
पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूको एकीकरण र सहकार्यको प्रयास तीव्र बनेको छ । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकता भइसकेको छ । यस एकतामा सुदन गुरुङको प्रमुख भूमिका रहेको बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रमुख भूमिका निर्वाह गरेका गुरुङले रवि, बालेन र कुलमानलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण योगदान दिएका थिए । उनी पछिल्लो समय वैकल्पिक शक्तिहरूको समीकरणमा सक्रिय देखिएका छन् ।
यसअघि पनि कुमार बेनको ज्वागलस्थित घरमा बालेन, रवि लामिछाने लगायतका नेताहरूबीच निर्वाचन लक्षित छलफल भएको थियो । त्यसबेला गुरुङले नै छलफल स्थलको गेटमा ताला लगाएर सहमतिको दबाब दिएका थिए ।









