निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव: मन्त्री सिन्हा

काठमाडौँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री सिन्हाले नेपाल र युरोपेली संघ (ईयू) बीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राखे ।

नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबीचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उनको तर्क थियो । सिन्हाले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनुपर्नेमा जोड दिए ।

मन्त्री सिन्हाले भने ‘नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण विषयहरूमा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवाद गराउने यो पहल प्रशंसनीय छ । यो मञ्चले नेपाल र युरोपेली संघबीच अनादिकालदेखि रहिआएको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्नेछ । हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकासको बाटो रोज्नुपर्छ, जसले नेपाललाई समृद्ध बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सहयोग पुर्याउनेछ ।’

कार्यक्रमले नेपाल र युरोपेली संघबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन र वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधारका बारेमा ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =