दूधको प्लास्टिकबाट बनेका सुन्दर सामाग्री (तस्बिरहरू)

काठमाडौँ । आम मानिसले दैनिक जस्तो बजारबाट प्याकेटको दूध किनेर उपभोग गर्दै आइरहेका छन् । ती प्याकेटहरू हामीले फोहोरको रूपमा फाल्दै आइरहेका छौ । तिनै प्लास्टिकबाट दैनिक जीवनमा प्रयोग हुने सुन्दर सामाग्री पनि बन्छ भन्ने हामी मध्ये थोरैलाई मात्र थाहा होला ।
आज हामीले फोहोरको रूपमा फाल्ने यस्तै प्लास्टिकबाट बनेको सुन्दर सामाग्रीहरूको तस्बिरहरू लिएर आएका छौ ।
उमेरले ६५ लागेकी कलङ्कीकी उर्मिला पनेरु विगत १६ वर्षदेखि यस्तै खेर जाने प्लास्टिकबाट सुन्दर सामाग्री बनाउँदै आइरहेकी छन् ।
उनले २०६६ सालमा वडा स्तरीय हस्तकला तालिममा सहभागी भएपछि त्यहीँबाट सिकेको सीपलाई निरन्तरता दिँदै आइरहेकी छन् । दैनिक रूपमा निस्कने यस्ता नकुहिने फोहोरबाट नयाँ–नयाँ उत्पादन गर्ने प्रयासलाई निरन्तरता दिँदै उनीले आजसम्म विभिन्न स्थानमा धेरै भन्दा धेरैलाई तालिम समेत दिइसकेकी छन् ।
यो उपलब्धि भने सहज भने थिएन । पारिवारिक सहयोगबिनै एक्लै अघि बढ्नु उनका लागि ठुलो चुनौती थियो । तथापि, विभिन्न दबाब र पारिवारिक जिम्मेवारीलाई सन्तुलित रूपमा व्यवस्थापन गर्दै उनले घरको भान्छाबाट सधैँ फ्यालिने दूधको प्लास्टिकलाई धोई/पखाली त्यसबाट धागो बनाई सो धागोबाट पर्स, ब्याग, जुत्ता, जिउ माड्ने जाली , डोर म्याट, चकटी, किचेन सामग्री, की–रिङ, मोजा, थैली, टूथ ब्रस/ चम्चा राख्ने डब्बा लगायत विभिन्न सजावटी सामग्री बनाउँदै आएकी छन् ।
उनको निरन्तर मेहनत, धैर्य र सीप विकासको यात्राले अन्य महिलाहरूलाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिँदै आएको छ ।
हेर्नुहोस् तस्बिरहरू:-









