जनताको चाहना र भावनाअनुसार काम गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भावना र चाहनाअनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् ।
आज उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कबर्डहलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार सकेसम्म जनभावनाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद पनि जनताका असङ्ख्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता प्रदेश र स्थानीय तहमा रहेको भए पनि आफूहरु दृढतका साथ जनभावना र जनचाहनालाई सम्बोधन गर्न लागिपरेको बताए ।
थोरै बजेटले धेरै काम गर्ने बाध्यताले गर्दा कोशी प्रदेशभित्र धेरै योजना अलपत्र परेकाले यसलाई अबको दिनमा सच्याउँदै अघि बढ्नेसमेत मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेश सरकारले २०७५ सालमा पहिलोपटक बजेट निर्माण गर्दा रु ४६ अर्बको बजेट बनाएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले तत्कालीन समयको माग र अहिलेको मागको तुलनामा अहिले जनताको माग धेरै भएको बेला प्रदेश सरकार बजेट घटेर रु ३६ अर्बमा सीमित हुँदा पनि कतिपय कामहरु सरकारले चाहेर पनि गर्न नसको बताए ।
उनले दिन प्रतिदिन जनताको आवश्यकता, बाटोघाटोको माग बढ्दै गएको बेला देशको अर्थतन्त्र नै शिथिल भएर राज्यमा बजेटको आकार घट्दो क्रममा रहेकाले गर्दा समयमा जनताका माग पूरा नभएको पनि आफूहरु गम्भीर रहेकोसमेत बताए ।
मुख्यमन्त्री कार्कीले पहिला पहिला भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा होस् वा अन्य क्षेत्रमा होस् राज्यले कनिका छरेजस्तो गरी बजेट विनियोजन गर्ने क्रमको अन्त्य गर्दै अब कोशी प्रदेश सरकारले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दै जनचाहना र जनभावनाको सम्बोधन हुनेगरी काम गर्ने बताए ।
कोशी प्रदेश सरकारले २०७६÷०७७ सालमा रु पाँच लाख र नगरपालिकाको रु १० लाख रकम बिनियोजन गरेर निर्माण सुरु गरिएको सुन्दरपुर ब्याडमिन्टन कवडहलको गत वर्ष चौदण्डीगढी नगरपालिकाले रु ३२ लाख ८५ हजार रकम विनियोजन गरेर निर्माण सम्पन्न गरेको हो ।
उक्त नवनिर्मित सुन्दरपुर ब्याडमिन्टन कवडहलको मुख्यमन्त्री कार्कीले सोमबार उद्घाटन गरेका हुने भने सोही हलमा यही मङ्सिर २० गतेबाट आयोजना हुने कोशी प्रदेश स्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको समेत सोमबारै मुख्यमन्त्री कार्कीले उद्घाटन गरेको कुरा मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।








