प्रशासन चलाउने शक्ति पदमा नभई विश्वासमा हुन्छ : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताएका छन् ।

३५ वर्षको सरकारी सेवापछि मंगलवार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित विदाइ समारोहमा बोल्दै यस्तो बताए ।

उनले सरकारी सेवामा प्रशंसाभन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताए । कुनैपनि राष्ट्रिय सेवकले प्रश्नबाट भाग्न नसक्ने उनको भनाई छ । उनले विशेषगरी संवेदनशील क्षण र निर्णायक अवस्थाहरूमा सबै पक्षलाई सन्तुष्ट पार्न नसकिने बताए ।

जेनजी आन्दोलन, राष्ट्रिय सम्पत्तिको रक्षा, शान्ति व्यवस्थापन जस्ता चुनौतीपूर्ण परिस्थितिमा उपलब्ध साधन र सूचनाका आधारमा सकेसम्म उचित निर्णय लिने प्रयास गरेको उनको भनाई छ । उक्त विषम परिस्थितिमा भर्चुअल सचिव बैठक, राजनीतिक समन्वय जस्ता महत्वपूर्ण सहजीकरणबाट नागरिक सरकारको गठनमा महत्वपूर्ण भुमिका गरेको उनले बताए ।

यसबाट पनि आगामी दिनमा निजामती सेवाको उच्च महत्व स्थापित भएको उनले बताए । तरपनि प्रश्न गर्ने समाजको स्वभावै भएको उनको भनाई छ । उनले संघीय निजामती सेवा र कानूनी संरचनामा देखिएका कमजोरी तथा नेतृत्व विकासमा अवरोध पु¥याउने व्यवस्थाहरूविरुद्ध आफूले स्पष्ट रुपमा खुला धारणा राखेको बताए ।

ती विषयहरू व्यक्तिगत विवाद नभएर संस्थागत सुधारको अनिवार्यता रहेपनि आलोचना र विवाद भएको उनले बताए । त्यस क्रममा भएका आलोचना र प्रशंसा दुवैलाई आफूले स्वीकार गरेको उनले बताए ।

उनले सेवा निवृत्त हुँदै गर्दा निजामती सेवाले पछिल्ला वर्षमा गरेका प्रमुख उपलब्धिहरू समेत सार्वजानिक गरे । वैदेशिक रोजगार प्रणालीलाई डिजिटल दायरामा लैजानु, सेवा प्रवाह सहज बनाउनु, सामाजिक सुरक्षा विस्तार, निजामती सेवा अस्पताल तथा इमिग्रेसन सेवा सुधार, सुशासन र व्यवसायिक वातावरण सुधारमा म्यासिभ र दिगो प्रयत्न गरिएको उनको भनाई थियो । यी उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण निजामती सेवाको सामूहिक उपलब्धि भएको उनले बताए ।

उनले समयमा महत्व र कठिन अवस्थामा पनि राज्यका संयन्त्रहरूलाई चलायमान राखेको उल्लेख गरे । जेनजी आन्दोलनले देशलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै मुख्यसचिव अर्यालले नागरिकले उत्तरदायित्व, पारदर्शिता, कार्यक्षमता र सहज सेवा चाहेको बताए ।

उनले अहिलेका संरचनाहरूलाई अनुकूलन र सुधार गर्ने समय आएको उल्लेख गरे । उनले निजामती सेवामा साहस नखस्किन नदिन पनि आग्रह गरे ।

सुधार गर्ने हिम्मत, न्यायपूर्ण निर्णय गर्ने इमान, नागरिकप्रति संवेदनशीलता तथा संस्थालाई अगाडि बढाउने दृढता बिना राज्य बलियो नहुने उनको भनाई छ । इतिहासले सधैँ साहसलाई सम्मान गर्ने भन्दै उनले कठोर निर्णयहरू प्रायः एकमत नआउने तर देशलाई चाहिने निर्णय भने हुनुपर्ने बताए ।

मुख्यसचिव अर्याल २०४६ साल माघ ४ गतेबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनि ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =