सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको राष्ट्रिय सभाका सांसदहरुको दाबी

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले निर्वाचन गराउने वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले निर्वाचनको वातावरण बनाउने काम हुन नसकेकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।

नेपाली काँग्रेसका सांसद युवराज शर्माले जेनजी आन्दोलनको क्रममा उपराधिक गतिविधिमा संलग्नमाथि कारबाही गर्ने प्रहरीको पहललाई पनि गृह मन्त्रालयले अघि बढ्न नदिएको जिकीर गर्दै आपत्ति जनाए ।

उनले सरकारले निर्वाचनका लागि सुरक्षित वातावरण बनाउने प्रयास समेत नगरेको बताए । सांसद शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक नगरेको पनि असन्तुष्टि व्यक्त गरे । सरकारले सुशासन र निर्वाचन सम्पन्न गराउनका लागि कुनै पहल लिन नसकेको सांसद शर्माको भनाई थियो ।

नेकपा एमालेकी सांसद सुमित्रा बिसीले नयाँ संसद भवन निर्माण कार्य पूरा गर्न ढिलाई भएको गुनासो गरिन् ।

सरकारले सो संसद भवन छिटो सम्पन्न गरेर राष्ट्रिय सभा बैठक संचालनका लागि वातावरण बनाउन ढिलाई गर्न नहुने बताइन् ।

सांसदहरुले राष्ट्रिय गौरवको आयोजना अघि बढाउने काम नगरेर सरकारले मुलुकमा फेरि अर्को आन्दोलनलाई निम्तो दिने काम गरेको समेत बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले सो कुरा बताइन् । उनले सो गौरवको आयोजनाको कामलाई अघि बढाउन कर्मचारी प्रशासनले पनि विशेष भुमिका खेल्नुपर्ने आवश्यकता आँैल्याइन् ।

सांसद चन्दले सरकारले रानी जमरा सिंचाई आयोजनाको कामलाई तिब्रता दिनुपर्ने समेत बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =