काँग्रेसको निष्कर्ष: वर्तमान राजनीतिको उचित निकास नै निर्वाचन

काठमाडौँ । नेपाली काँग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

जेन–जी आन्दोलनपछि विकसित राजनीतिको उचित निकास निर्वाचन नै भएको उनले बताए । उनले अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघटनको विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएकोले सर्वोच्च अदालतले यसको अन्तिम व्याख्या गर्ने बताए । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन भएको ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय गरेको उनले जानकारी दिए ।

निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिने उनले बताए । काँग्रेसले निर्वाचनको लागि उचित वातावरण बनाउन समेत सरकारसँग माग गरेको छ । हजारौँ कैदीबन्दी जेल बाहिर हुनु, आन्दोलनका क्रममा लुटिएका हात हतियार फिर्ता ल्याउन नसक्नु, राजनीतिक दलहरूका कार्यक्रममा अवरोध गर्नु जस्ता कार्यले निर्वाचनको लागी उचित वातावरण नभएको काँग्रेसले जनाएको छ ।

उनले भने ‘अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघठन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचारधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली काँग्रेस विश्वास गर्दछ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनितिको् उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो भएका दृढ विश्वास रहेको छ ।’

काँग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन आयोग दर्ता गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनमा भएका मृतकहरूलाई क्षतिपूर्ति दिन र घाइतेहरूको उचित उपचार गर्न, भदौ २४ गते भएको आगजनी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्न, आर्थिक क्षति पुगेका व्यावसायिक प्रतिष्ठानलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीको वातावरण बनाउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ । काँग्रेसले सबै पक्षलाई संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =