चोरी भएका ५१ मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रमका बिच उनीहरूलाई सवारी हस्तान्तरण गरेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३३ ओटा मोटरसाइकल र १८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, रानीबारी, बौद्ध, बालकुमारी, कोटेश्वर, काँडाघारी, पुतलीसडक, अनामनगर, सिंहदरबार, मालिगाउँ, गठ्ठाघर, लुभु, लगायतका विविध स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ५१ ओटा सहित ९१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।
चोरीका ९ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १९ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले बताएको छ ।








