आन्तरिक किचलो मत्थर पार्दै रास्वपा, बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा आज दिउँसो २ बजे बस्ने उक्त बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीका आन्तरिक संरचनाको सुदृढीकरण र भावी रणनीतिका महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल गर्नेछ ।
बैठकको कार्यसूचीमा समसामयिक राजनीति, संवाद र सहकार्यका पहलहरू प्रमुखताका साथ समावेश गरिएको छ । यस क्रममा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाबारे पनि जानकारी गराइने बताइएको छ । यसैगरी, हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गरिने र उक्त बैठकमा प्रस्तुत प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने एजेन्डा पनि तय गरिएको छ ।
रास्वपाले विभिन्न कार्यदलहरूको विस्तार र गठनलाई पनि प्राथमिकतामा राखेको छ । ‘वाचापत्र कार्यदल’ को विस्तार गरिनेछ भने ‘संविधान परिमार्जन कार्यदल’ का लागि संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने बताइएको छ ।
मिडिया व्यवस्थापन र राजनीतिक अध्ययनलाई पनि रास्वपाले विशेष जोड दिएको छ। ‘मिडिया अध्ययन कार्यदल’ गठन गरी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन तथा विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने र आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने व्यवस्था मिलाइनेछ । यसैगरी, ‘राजनीति अध्ययन कार्यदल’ ले विभिन्न राजनीतिक दल, समूह र शक्तिहरूको गतिविधि नियमित अध्ययन तथा विश्लेषण गरी पार्टी नेतृत्वलाई जानकारी गराउनेछ ।
बैठक कार्यसूची:
१. समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल । (सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत) ।
२. केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा ।
३. विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित।
४. वाचापत्र कार्यदल विस्तार ।
५. संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा ।
(संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न निर्देशन दिने ।)
६. मिडिया अध्ययन कार्यदल ।
अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)
७. राजनीति अध्ययन कार्यदल ।
राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने)
८. उम्मेदवार छनौट सिफारिस समिति विस्तार ।
९. रुपन्देही-३ को उम्मेदवार सम्बन्धमा ।
१०. विविध
क. राजनीतिक दल-संगठन अध्ययन कार्यदल ।
(केन्द्रीय संगठन विभागबाट ठूला एवं वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीतिक अध्ययन गर्ने ।)
ख. जेन-जी युवा लक्षित अभियान सम्बन्धमा ।








