एमालेको देशव्यापी शक्ति प्रदर्शन, आज जनसभा

काठमाडौं । नेकपा (एमाले) आज देशभरि बृहत् जनसभा आयोजना गर्दैछ । ‘प्रतिगामी षड्यन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत एमालेले आज अधिकांश जिल्ला सदरमुकाम र प्रमुख शहरहरूमा आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो ।

अभियानमार्फत एमालेले आफ्नो जनआधार र सांगठनिक बललाई पुनः स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, यी जनसभामा व्यापक जनसहभागिता सुनिश्चित गर्नका लागि केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लामा खटाइएको छ । गौतमले भने, ‘पार्टीले सबै जिल्ला इन्चार्जहरूलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरि अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउँछौँ ।’

एमालेको यो जनपरिचालन अभियान चार चरणमा सञ्चालन भइरहेको छ । यसको पहिलो चरणमा गत कात्तिक २२ गते देशभरका वडाहरूमा भेला सम्पन्न भइसकेको छ । दोस्रो चरणमा कात्तिक २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन तथा र्‍यालीहरू आयोजना गरिएका थिए । तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज देशभरका जिल्लाहरूमा जनसभाको आयोजना हुँदैछ ।

अभियानको समापन मंसिर ६ गते काठमाडौँमा एक विशाल जनसभा गरेर गरिने गौतमले जानकारी दिए । आजका जनसभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू विभिन्न जिल्लामा खटिएका छन् । महासचिव शङ्कर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् भने, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा र अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लमजुङको आमसभालाई सम्बोधन गर्नेछन् ।

यसैगरी, सचिव छविलाल विश्वकर्मा रुपन्देहीमा तथा सचिव पद्मा अर्याल झापाको बिर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन् । कोशी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =