मतदाता नामावली दर्ता प्रक्रियामा देखिएको समस्या समाधान गर्न आयोगको ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

संघका सभापति दुजाङ शेर्पा लगायतको समूह शुक्रवार आयोगमा पुगेर निर्वाचनको तयारी र मतदाता नामावली संकलनको प्रणालीमा देखिएका समस्याको बारेमा आयोगको ध्यानाकर्षण गराएको हो ।

संघका सभापति शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै युवा मतदातालाई धेरैभन्दा धेरै निर्वाचनमा सहभागी गराउने, मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका प्राविधिक समस्या समाधानको समाधानका लागि आयोगलाई सुझाव दिइएको बताए ।

उनले प्रवासमा रहेका नेपाली नागरिकहरूलाई समेत मतदानमा सहभागी गराउने विषयमा भइरहेको प्रगतिबारे जानकारी लिइएको बताए ।

उनले भने ‘अगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीको कार्यप्रगतिको विषयमा र कसरी बढीभन्दा बढी युवाहरूलाई मतदानमा सहभागी गराउन सकिन्छ र मतदाता नामावलीमा नाम दर्ता गर्दा देखिएका समस्याहरूको समाधानका लागि आयोगको ध्यानाकर्षण गराएका छौँ । आम चासोको रूपमा देखिएको विदेशी नागरिकहरूलाई कसरी मतदानमा सहभागी गराउने भन्ने विषयमा के भइरहेको छ भनेर त्यसको कार्यप्रगति के भइरहेको छ भन्ने विषयमा बुझेका छौँ । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेविसंघ सधैँ आयोगको साथमा रहेको पनि भनेका छौँ ।’

सरकारले अगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन तोकेको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =