रवि लामिछानेको बयान सकियो, भने– ‘समय आउँदैछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष दिएको बयान सकिएको छ । आयोगले बुधबार दिनभर उनलाई सोधपुछ गरेको हो ।
बयानका लागि पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याइएको थियो । सोधपुछ सकिएपछि उनी पुनः कारागार फर्किएका छन् ।
प्रहरीको भ्यानभित्र रहेका बेला शुभचिन्तकहरूले केही प्रतिक्रिया दिन आग्रह गर्दा लामिछानेले छोटकरीमा भने– ‘समय आउँदैछ ।’
जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनलाई बयानका लागि बोलाएको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।
तर, कारागार प्रशासनले दिएको भनिएको बाहिर जान पाउने पत्रको आधिकारिकतामाथि प्रश्न उठेपछि उनी पुनः कारागारमै फर्किएका थिए ।








