रामकुमारी झाँक्रीले देखिन् एमालेमा उज्यालो क्षितिज (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले) मा नै एकताबद्ध हुने पक्षमा आफूहरू रहेको बताएकी छिन् । उनले बुधबार काठमाडौंमा आफ्ना समूहका नेताहरूसहित आयोजित पत्रकार सम्मेलनमा एमालेप्रति संकेत गर्दै आफूहरू त्यसैमा एकताबद्ध हुने बताएकी हुन् ।

झाँक्रीले बोल्नुअघि नेता कृष्णकुमार श्रेष्ठले आफूहरू एमालेमा बिना शर्त फर्कने बताएका थिए । सोही भनाइप्रति संकेत गर्दै उनले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरू एकताबद्ध हुने बताएकी हुन् । उनले देशभरका एकीकृत समाजवादी पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताहरूलाई पनि आफूहरू उभिएको ठाउँमा एकताबद्ध भएर उभिन आह्वान गरिन् । नयाँ पार्टीहरूले केही पनि गर्न नसक्ने कुरा जेन–जी आन्दोलनले पनि देखाएको उल्लेख गर्दै उनले आफूहरू रूपान्तरित भएर अघि बढ्नुपर्ने बेला आएको बताएकी छिन् ।

उनले भनिन्, ‘हामीले विचार र सिद्धान्त मिल्ने पार्टीमा हामी एकताबद्ध हुने नै हो । किसान दाइले त फोरकास्ट गरिहाले । एकताबद्ध हुने नै हो । त्यसो गर्दा हामीले कम्तीमा रूपान्तरित हिसाबले हामी जाउँ । हामी पनि रूपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ । हाम्रो यात्रा अवरुद्ध छ । हाम्रो पार्टी विघटन भएको छ । नयाँ बाटोको लागि हामीले केही कुरा देशैभरि नेकपा (एकीकृत समाजवादी) को नाममा संगठित हुनुभएका वडा तहदेखि केन्द्रीय कमिटीसम्म, विभिन्न संगठनदेखि जनवर्गीय संगठनसम्म सबै साथीहरूलाई एकताबद्ध भएर हामी उभियौं । हामीले हाम्रो नेतृत्वमा भयंकर ठूलो पार्टी बनाउँछौँ भनेर दाबी गरिरहेका छैनौं । हामीलाई आज यो लागिरहेको होइन । त्यसकारण समाजवादी पार्टीमा संगठित सबै साथीहरूलाई यो एउटा सन्देश दिन चाहन्छौँ कि पार्टीविहीन अवस्थामा भयौं नि त । अब एक घण्टापछि पार्टीविहीन भइसकेपछि हामी पार्टीविहीन मान्छेहरू के गर्छौं भन्ने सन्दर्भमा देशभरका साथीहरूका लागि हामी एक ठाउँमा उभियौँ । हामीले एकदम राम्रो दृष्टिगोचर गरौँ । र क्षितिज पारि उज्यालो छ भन्ने देखेरै हामीले सामूहिक पाइला अगाडि बढाउने छौँ । त्यो बाटोबाट जाउँ । देशभरिका साथीहरूलाई विचलित नहुनुहोस् । अहिले पार्टी भत्कियो, परिवार भत्कियो । अहिले सब चिज यो भत्किएको बेला हामीले निर्माण गर्ने हो ।’

नेतृ झाँक्रीले नयाँ पार्टीहरूले मुलुकमा केही पनि गर्न नसक्ने कुरालाई सबैले आत्मसात गरेर अघि बढ्नुपर्ने पनि बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =