जेनजी आन्दोलनः सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

काठमाडौँ । भदौ २४ गते भएको आगजनी र तोडफोड घटनासम्बन्धी अनुसन्धान प्रक्रिया तीव्र भएको छ ।
सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी बुझाएको जानकारी दिएको छ । एसएसपी रमेश थापाका अनुसार, जाहेरी प्राप्त भएपछि अनुसन्धान प्रक्रिया प्रारम्भ गरिसकिएको छ ।
सर्वोच्च अदालतले कात्तिक १३ गतेको पत्रमा घटना सम्बन्धी आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न अनुरोध गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा औपचारिक जाहेरी दिएको हो ।
जाहेरीमा हालसम्म कुनै विशेष व्यक्तिको नाम उल्लेख गरिएको छैन । सर्वोच्च अदालतले अन्य मातहत अदालतहरूलाई पनि यस प्रकरणमा तदनुसार पत्राचार गरी जाहेरी बुझाउन आग्रह गरेको छ ।
जिल्ला अदालत काठमाडौँले कात्तिक १४ गते क्षतिको विवरणसहित ६२ करोड रुपैयाँको अनुमानित मुआब्जासहित जाहेरी बुझाएको स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । यसैगरी, सात उच्च अदालतहरूमा पनि आगजनी र तोडफोडका घटनाहरू भएको पुष्टि भएको छ ।
उच्च अदालत तुलसीपुरका रजिस्ट्रार यप्रसाद बास्कोटाले घटनामा करिब २८ करोडको क्षति भएको जानकारी दिएका छन् । उनले प्रमाणका रूपमा विभिन्न भिडिओसमेत सङ्कलन गरिरहेको बताएका छन् ।








