प्रधानमन्त्री कार्कीलाई मुख्यमन्त्रीहरूको ब्रिफिङः ‘निर्वाचनको वातावरण बनिसकेको छैन, सहयोगका लागि तयार छौं’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेकी छन् ।

अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

उनकाअनुसार सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश स्तरमा रहेको शान्ति सुव्यवस्था लगायत विषयमा प्रधानमन्त्री कार्कीलाई ब्रिफिङ गरेका थिए । आगामी निर्वाचन, सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा संघीय तथा प्रदेश सरकारबीच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ ? भन्ने विषयमा गम्भीर छलफल भएको सञ्चारमन्त्री खरेलको भनाइ छ ।

उनले भने, ‘सात वटा प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक उपलब्धिमूलक र सकारात्मक रहेको छ । अगामी निर्वाचन र सुशासन तथा भ्रष्टाचार नियन्त्रणको सवालमा प्रदेश सरकार र संघीय सरकारबीच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ । मुख्यमन्त्रीज्यूहरुले चुनावको लागि प्रदेश स्तरमा कस्तो वातावरण छ भन्ने कुरा ब्रिफिङ भयो । सबै तहका सरकार मिलेर निर्वाचन सम्पन्न गर्न आआफ्नो भूमिका प्रभावकारी बनाउने सहमति पनि भएको छ । केही नीति, नियम र बजेट कार्यान्वयनका सम्बन्धमा अझैपनि छलफल जारी छ । छलफलमा मुख्यमन्त्रीज्युहरुले कानूनी र वित्तीय अल्झनहरुका बारेमा गुनासो राखेका छन् । यी अल्झन चिर्न उहाँहरूको सुझाव थियो । यसबारे प्रधानमन्त्रीले सकारात्मक रहनुभएको छ ।’

उनले सबै तहका सरकार मिलेर आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो भूमिका प्रभावकारी बनाउने सहमति बैठकमा भएको पनि बताए । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले संघीयताको मर्म र भावनाअनुसार समन्वय नगरेकोप्रति आपत्ति जनाए ।

उनले अगामी २१ फागुनमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण भइनसकेको बारेमा प्रधानमन्त्री कार्कीसँग सरोकार राखेको पनि बताए । उनले निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको अनुभूति र सुरक्षा निकायको मनोबल बढाउनुको विकल्प नरहेको भन्ने सुझाव दिएको पनि बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री कार्कीसँग अगामी निर्वाचन र प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर अगाडि जाने विषयमा छलफल भएको बताए । उनले प्रधानमन्त्री कार्की संघीयता र अगामी निर्वाचनको बारेमा अत्यन्त सकारात्मक देखिएको पनि बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम भइनसकेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै निर्वाचनको वातावरण गर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेको बताए । प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सहयोग गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेको र सोकुरामा सहमति भएको बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । यसअघि सरकारले सबै राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूसँग समेत छलफल गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =