काँग्रेसमा आबद्ध जेनजीको माग: सुशासनको सुरुवात गर्न पार्टीले आन्तरिक सुशासन आयोग गठन गरोस्

काठमाडौँ । नेपाली काँग्रेसमा आबद्ध जेन–जी उमेर समूहका प्रतिनिधिमूलक युवाहरूले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रबाट सुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले यस्तो माग राखेका हुन् ।

पार्टीका जनप्रतिनिधिहरूको विगतका गतिविधिको समीक्षा गरी भविष्यमा मापदण्डमा आधारित अनुगमन र कारबाहीको प्रक्रिया लागू गर्नुपर्ने पनि उनीहरूको माग छ ।

पत्रकार सम्मेलनमा बोल्दै जेन–जी प्रतिनिधि विकल राईले पार्टीको विधान संशोधन गरी युवा सहभागिता सुनिश्चित गर्न माग राखे । पार्टीको जारी केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरामा समेत पार्टी दृढ रूपमा उभिनुपर्ने बताए ।

उनले नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत माग गरे ।

उनले भने ‘मुलुकको सुशासन कायम गर्नु जेन–जी प्रदर्शनको मुख्य माग थियो । नेपाली काँग्रेसले पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गरोस् । जसले तीनै तहमा गएका जनप्रतिनिधिहरूको विगतका प्रवृत्तिको समीक्षासँगै भविष्यमा जाने जनप्रतिनिधिको भूमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर चेतावनी, प्रोत्साहन र कारबाही सिफारिस गरोस् । नेपाली काँग्रेसले गत २३ नयाँ बानेश्वरमा भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने निर्णयमा दृढ ढंगले उभियोस् । भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रूपमा भएको तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनुपर्छ । भ्रष्टाचारको गहिराई गएर निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने कुरामा नेपाली काँग्रेसको सहयोग रहनुपर्दछ । नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक राजनीतिक दलका रूपमा नयाँ ऊर्जाका साथ अघि बढ्ने रोडम्याप नेपाली काँग्रेसले सार्वजनिक गर्नुपर्दछ । पार्टीको जारी केन्द्रीय समिति बैठकबाट विधानमा परिवर्तन गरी पार्टीको हरेक तहमा जेनजीको सहभागिता सुनिश्चितता गरियोस् ।’

उनले नेपाली काँग्रेससहित सबै राजनीतिक दलहरूमा विधान संशोधन गरी युवा सहभागिताका ढोकाहरू फराकिलो बनाउनुपर्ने बताए । उनले जेन–जी आन्दोलनको औचित्य पुष्टि गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने लक्ष्यमा युवाहरूको ऐक्यबद्धता आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =