प्रधानमन्त्री–सुरक्षा निकायका प्रमुखहरुबीच भेट: निर्वाचन केन्द्रित छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन् ।
विभिन्न राजनीतिक दलहरूले सडक प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग शनिवार बालुवाटारमा छलफल गरेका हुन् ।
मुलुकमा सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिए । उनले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरू राख्न पनि आग्रह गरिएको बताए ।
सरकारले संवादमार्फत राजनीतिक दलहरूको मागको सुनुवाइ गर्ने भएकाले सडक प्रदर्शन आवश्यक नभएको पनि गृहमन्त्री अर्यालले बताए ।
उनले भने ‘खास गरेर यो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण हो अहिले । स्थिति सामान्यीकरण गर्ने र अरू बाँकी चुनावको वातावरण बनाउनका लागि चाहिने शान्ति सुरक्षाको प्रत्याभूति दिने कुरामा नै केन्द्रित छौ । आज विषयवस्तुको सूक्ष्म विश्लेषण भयो । र खास गरेर सडक प्रदर्शनसँग सम्बन्धित विषयवस्तुहरू र त्यसले निम्त्याउने सुरक्षा जोखिमका बारेमा हामीले गहन छलफल गरेका छौँ । जसका पनि राजनीतिक मागहरू छन् भने सरकारले संवादको माध्यमबाट ती कुराहरू सुनिदिन्छ । अब संवादका इन्गेज हुनुपयो सबै । किनभने अब सडकमा जाने पनि सरकारलाई संवादको लागि अपिल गरेको हो । अव सडकमा नगई पनि संवाद हुन्छ भने संवादमा नै आउनुपर्छ । सडकमा जान जरुरी छैन । अब सडकमा जानुपर्ने परिस्थिति हुन्छ भने पनि त्यो लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन हुनुपनि भएन । सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु पनि भएन । निजी सम्पत्तिमा क्षति पुर्याउनु पनि भएन । कहीँ कतै हिंसा हुनै भएन । अहिंसात्मक तरिकाले गर्नुपर्दछ । यो कुराको समझदारी हामी विभिन्न राजनीतिक दलहरू जो आन्दोलनकारी हुनुहुन्छ । उहाँहरूसँग सरकारले यो अनुरोध गरिरहन्छ । सरकार यो नीतिअनुसार चल्छ तत्काललाई । जो राजनीतिक शक्ति छन् । त्यो शक्ति भनेको धेरै जिम्मेवार शक्ति हो । भविष्यमा देश चलाउने हो भनेर जसले भन्नुहुन्छ । त्यो भनेको राजनीतिक कुरा हो । राजनीतिक कुरा भएपछि राजनीतिक व्यवहार पनि हुनुपर्यो । राजनीतिक संस्कार पनि हुनुपर्यो । त्यसको बोध पनि गराउनु पर्यो । सरकार एउटा अभिभावक पनि हो । सरकारले त्यो कुराको बोध गराउँछ । त्यसका लागि हामी संवादमा नै जोड दिन्छौ ।’
सरकारले मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै आएको छ । मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन आफूहरू सुरक्षा निकायसँग निरन्तर छलफलमा रहेको पनि गृहमन्त्री अर्यालले बताए ।








