हर्षोल्लासका साथ मनाइयो नेपाल संवत ११४६ (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय विभूति शंखधर साःख्वाले स्थापना गरेको नेपाल संवत ११४६ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाइएको छ । विशेषगरी नेवार समुदायले यस संवतलाई आफ्नो मौलिक नयाँ वर्षका रूपमा मनाउँछन् ।
इस्वी संवत् ८८० (विसं ९३७) मा गरिब जनताको ऋणमोचन गरेर शंखधर साःख्वाले नेपाल संवतको थालनी गरेका थिए । उनको यो कार्य सामाजिक सेवाको एक अनुपम उदाहरण मानिन्छ ।
विसं २००७ मा प्रजातन्त्र स्थापना भएपश्चात् नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउनका लागि अभियानहरू चलेका थिए । अन्ततः २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साःख्वालाई राष्ट्रिय विभूति घोषणा गर्दै उनको योगदानको उच्च कदर गरे ।
काठमाडौं उपत्यकाका साथै बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायतका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले नेपाल संवतलाई विशेष महत्त्वका साथ मनाउँछन् । यस अवसरमा सांस्कृतिक झाँकी, शुभकामना आदानप्रदान र विभिन्न परम्परागत कार्यक्रमहरू आयोजना गरिए ।
यस वर्ष पनि नेवार समुदायले एकआपसमा शुभकामना साटासाट गर्दै, सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुँदै र भोजभतेर आयोजना गर्दै नयाँ वर्षको स्वागत गरे ।









