सुदन गुरुङको प्रश्न

‘हाम्रा साथीहरू सहिद हुँदै गर्दा तपाईँहरू कुन नेताको चाकडी गर्दै हुनुहुन्थ्यो ?’

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमार्फत विद्यार्थी र युवा संगठनहरूलाई लक्षित गर्दै तीखो प्रतिक्रिया दिएका छन् ।

कांग्रेस एमाले निटक विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेपछि उनले विद्यार्थी नेताहरुमाथि नै प्रश्न उठाएका हुन् ।

देशमा सुशासन कायम होस् र देशमै बस्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ गरिएको शान्तिपूर्ण आन्दोलनका क्रममा विद्यार्थी र युवामाथि अन्धाधुन्ध गोली चलाइँदा ती संगठनका नेताहरू किन मौन बसे ? भन्दै उनले प्रश्न उठाएका छन् ।

‘शान्तिपूर्ण आन्दोलनमा जाँदा देशका भविष्यका कर्णधार विद्यार्थी र युवामाथि अन्धाधुन्ध गोली वर्षिँदा, यिनै विद्यार्थी र युवाका नाममा खुलेका संगठनका हर्ताकर्ता कता लुकेका थिए?’ उनले भने ।

गुरुङले ७५ जना विद्यार्थी र युवाको हत्या हुँदा चुपचाप बस्ने ती नेताहरूले नै गोली चलाउने आदेश दिने नेताहरूको बचाउमा निर्लज्ज रूपमा उत्रिएको आरोप लगाए ।

‘७५ जना विद्यार्थी र युवाको हत्या हुँदा चुपचाप बस्ने ती नेताहरू अहिले त्यही बालबालिकामाथि गोली चलाउने आदेश दिने नेताहरूको बचाउमा निर्लज्ज रूपमा उत्रिएका छैनन् र ?’ उनले भने ।

उनले यस्ता घटनाले विद्यार्थी र युवा संगठनहरू वास्तवमा कसको हितका लागि सञ्चालन भइरहेका छन् भन्ने प्रश्न खडा भएको बताएका छन् ।

उनले भविष्यमा विद्यार्थी र युवाहरूसँग राजनीति गर्न आउनेहरूलाई चेतावनी समेत दिएका छन् । ‘हाम्रा साथीहरू सहिद हुँदा तपाईंहरू कुन नेताको चाकडी गर्दै हुनुहुन्थ्यो भन्ने प्रश्न हामीले गर्नैपर्छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =