टीओबी समूहका तेन्जिङ दावा लामामाथि ६ दिनको म्याद थप

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले टीओबी समूहका सदस्य तेन्जिङ दावा लामामाथि ६ दिनको म्यादको अनुमति दिएको छ ।

दावामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रहरीले मागेको ६ दिनको म्याद स्वीकृत गरेको हो ।

२९ वर्षीय तेन्जिङले पेस्तोल जस्तो देखिने हतियार देखाएर सर्वसाधारणमा डर, त्रास फैलाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले उनलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न आवश्यक देखिएको भन्दै प्रहरीलाई ६ दिनको म्याद थप दिएको हो ।

गत २३ र २४ भदौमा काठमाडौंमा भएको जेनजी आन्दोलनमा टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति कम्मरमा पेस्तोलजस्तो देखिने वस्तु बोकेर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी सक्रिय भएको थियो । सो घटनापछि खोजीमा खटिएको प्रहरीले तीव्र अनुसन्धान अघि बढाएसँगै तेन्जिङ आफैं प्रहरीसमक्ष पुगेका थिए ।

यद्यपि, प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार भाइरल भिडियो अहिलेको आन्दोलनकै समयको नभई करिब एक वर्षअघिको रहेको देखिएको छ । साथै, प्रहरीका अनुसार तेन्जिङबाट बरामद हतियार वास्तविक नभई नक्कली पेस्तोल हो ।

हाल प्रहरी उक्त घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । टीओबी समूहको गतिविधि, जेनजी आन्दोलनमा सहभागिता तथा उक्त भिडियोको वास्तविक सन्दर्भसमेत खोतलिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =