लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

राष्ट्रपतिले दलहरुलाई भने– निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए देश कहाँ पुग्छ ? सोच्नु !

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिए ।

राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरूमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गरे । उनले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए ‘देश कहाँ पुग्छ ?’ भन्ने सोच्न पनि सबैलाई आग्रह गरे ।

सबै राजनीतिक पार्टीले अन्योल सृजना नगरी जेनजी समूहको माग पूरा गर्ने उद्देश्यसहित जनतामाझ जान उनले अनुरोध गरे ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको र शान्ति सुरक्षा व्यवस्था, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । उनिहरुले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारसमक्ष आग्रह गरेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

उनले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाइन् । प्रधानमन्त्री कार्कीले भनिन् ‘जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =