सामाजिक सञ्जालमा चल्यो ‘एरेस्ट केपी ओली’ अभियान

काठमाडौँ । जेनजी आन्दोलनका अगुवाहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलाएका छन् ।
जेनजी अगुवाहरूले भदौ २३ को जेनजी आन्दोलनमा राज्यको दमनमा मारिएका युवाहरूको न्यायका लागि तत्कालीन सरकारका प्रतिनिधिहरूलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।
जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ ।’ उनले भनिन् ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस् ।’
त्यसैगरी, जेनजी अगुवा युजन राजभण्डारीले रक्षा बमको पोस्टलाई सेयर गर्दै लेखेका छन्, ‘हरेक गोलीको हिसाब हुनेछ । एरेस्ट केपी ओली ।’ यसकै साथमा अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि यसलाई समर्थन गर्दै सो अभियानलाई फैलाइरहेका छन् ।
यो अभियानमा केपी ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने माग उठेको छ । सोशल मिडियामा अहिले ‘एरेस्ट केपी ओली’ ट्रेन्ड चलिरहेको छ, जसले सामाजिक सञ्जालमा व्यापक बहस र प्रतिक्रियाहरूलाई जन्म दिएको छ ।
जेनजी अगुवाहरूका अनुसार, भदौ २३ को प्रदर्शनमा राज्यले विद्यार्थीहरूको हत्या गरेको र त्यसको छानबिन गर्नुपर्नेछ । उनीहरूको माग भनेको तत्कालीन सरकारका प्रतिनिधिहरूलाई न्यायको कठघरामा ल्याउनु हो ।








