सरकारको अक्षमताले जेनजीहरुको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । विजया दशमीका दिन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारहरूसँग भेटघाट गरी समवेदना व्यक्त गरेकी छिन् । भेटमा उनले सरकारमा रहेकाहरूको ‘बुद्धि नपुगेकै कारण’ यस्तो दुःखद घटना घटेको र निर्दोष युवाहरूको ज्यान गएको बताएकी हुन् ।

भदौ २३ र २४ गते भएको आन्दोलनमा ७६ जना जेनजी युवाले ज्यान गुमाएका थिए भने सयौं मानिस घाइते भएका थिए । प्रधानमन्त्री कार्कीले यस घटनालाई ‘नहुनुपर्ने घटना’ को संज्ञा दिँदै शहीद परिवारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा सरकार गम्भीर रूपमा सोचिरहेको बताइन्। 

शहीद परिवारसँगको भेटमा उनले भनिन्, ‘यो अत्यन्तै दुःखद घटना भयो। सरकारमा हुनेहरूको बुद्धि नपुगेकै कारण यो दुर्घटना भयो, जसले गर्दा हाम्रा बालबालिकाहरूले ज्यान गुमाए । उहाँहरूका छोराछोरीको पढाइ, रोजगारीको व्यवस्थापनलगायतका विषयमा हामी सोचिरहेका छौं ।’ उनले अगाडि थपिन्, ‘उहाँहरूले हामीसँग केही मागेकै छैन। उहाँहरूको नोक्सानको क्षतिपूर्ति त हुनै सक्दैन, राज्यले मृतकलाई फर्काएर ल्याउन पनि सक्दैन । तर, राज्यबाट मद्दत गर्ने र उहाँहरूलाई उठ्नका लागि सहयोग गर्ने हाम्रो प्रतिबद्धता हो ।’

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीदहरूको रगतमाथि कुनै पनि हालतमा अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले शहीदहरूको बलिदानले न्याय पाउने कुरामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =