रास्वपालाई समुनाको प्रश्नः ‘नख्खुमा ईज्जतसँगै मानवता पनि जलाउनु भएको हो र ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले पार्टीभित्र आफूविरुद्ध फैलाइएको ‘झुटा प्रचार’ प्रति गम्भीर आपत्ति जनाएकी छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै पार्टीभित्रको अवसरवादी प्रवृत्ति, निष्क्रियता, र राजनीतिक मूल्यबाट विचलन भएको भन्दै आक्रोश पोखेकी हुन् ।
‘व्यक्तिगत स्वार्थ र लाभका लागि नैतिक धरातल र मूल्य–मान्यता त्याग्नु नै अवसरवाद हो भने, पुराना दलका नेताहरूलाई दोषारोपण गर्दा आफैंले त्यही प्रवृत्तिको मलजल गर्नु अवसरवाद होइन ?’ श्रेष्ठको प्रश्न छ ।
उनले पार्टीभित्रका केही नेताहरूप्रति संकेत गर्दै भनेकी छन्, ‘क्षणिक लोकप्रियता र केही गालीबाट बच्न चुप लाग्नु हुतिहारा हुनु हो कि त्यसविरुद्ध विद्रोह गर्नु हुतिहारा हुनु हो ?’
श्रेष्ठले पार्टीले ‘गल्ती स्वीकार गरेर पनि कारबाही नगर्ने’ प्रवृत्तिप्रति पनि आक्रोश प्रकट गरेकी छन् । ‘नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र दासहरूलाई कुन नैतिक धरातलमा बसेर आलोचना गर्ने ?’ उनले सोधेकी छन् ।
‘दुर्गा प्रसाईं र जंगी अड्डासँगको निकटता नै अवसरवाद’
उनले जनआन्दोलनको सन्दर्भमा प्रधान सेनापति र दुर्गा प्रसाईंलाई ‘स्टेकहोल्डर’ भन्नु आपत्तिजनक रहेको बताउँदै, यस्तो धारणा राख्नु आन्दोलनको मूल भावना र जनसहभागिताको अपमान भएको बताएकी छन् ।
‘७४ जना सहिद भएका आन्दोलनमा हामी नागरिकको हैसियतले सहभागी थियौं, नेतृत्वदायी भूमिकामा थिएनौं,’ उनले स्पष्ट पारेकी छन्, ‘त्यस अवस्थामा जंगी अड्डा धाउनु, दुर्गा प्रसाईंसँग उभिनु नै अवसरवाद हो ।’
श्रेष्ठले आफूविरुद्ध सुमनाले रोकेर आन्दोलनमा जान नपाएको भन्ने हल्ला फैलाइएकोप्रति आपत्ति जनाउँदै भनिन्, ‘नख्खुमा ईज्जतसँगै मानवता पनि जलाउनु भएको हो र ?’
‘वैकल्पिक राजनीति भन्नु केपी, शेरबहादुर वा प्रचण्डको विकल्प खोज्ने कि नयाँ सोच र मूल्य निर्माण गर्ने ?’ भन्दै उनले वैकल्पिक राजनीतिमा लाग्नेहरूलाई आत्ममूल्यांकन गर्न आग्रह गरेकी छन् ।








