व्यापारी भन्छन्- ‘सडक अवरुद्ध भइरहे दसैँमा काठमाडौँमा मासुको माग पूरा गर्न सक्दैनौँ’

काठमाडौँ । निजी क्षेत्रबाट ल्याइएका खसी, बोका र च्याङ्ग्राहरू बजारमा बेच्नका लागि राखिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैँमा खसी, बोका, च्याङ्ग्रा विक्री नगर्ने भएसँगै काठमाडौँ उपत्यकामा निजी क्षेत्रले भित्र्याएका खसी बोकाहरू बजारमा बेच्नका लागि राखिएको हो ।
काठमाडौँको टुकुचा खसी बजार, कल्कीस्थित खसी बजार, भृकुटीमण्डप लगायतका स्थानहरूमा व्यापारीहरूले विभिन्न स्थानबाट ल्याएका खसीबोकाहरु देख्न सकिन्छ । धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, दोलखा लगायतका जिल्लाहरूबाट व्यापारीहरूले खसी, बोकाहरू काठमाडौँ ल्याएका छन् ।
जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमाथि भएको आगजनी, तोडफोडबाट भौतिक संरचनाहरू ध्वस्त भएसँगै लिमिटेडले यस वर्ष सरकारी स्तरबाट खसी, बोका, च्याङ्ग्रा विक्री नगर्ने निर्णय गरेको छ । तर बजारमा निजी क्षेत्रबाट ल्याइएका खसी बोकाहरू उपलब्ध हुने र व्यापारीहरूले मूल्य बढाउनसक्ने भएकाले अनुगमन जारी रहने बताएको छ ।
यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास सरकारको छ । कम्पनीले यसअघि करिब १ हजार ५ सय खसीबोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा विक्री गर्ने तयारी गरेको थियो । तर अशान्त परिस्थिति र यातायात सहज नहुन सक्ने जोखिमका कारण विक्री नगर्ने निर्णय लिइएको हो । यद्यपि खाद्यले दसैँका लागि आवश्यक खाद्यान्न र अन्य सामग्री भने सुपथ पसलमार्फत विक्री वितरण सुरु गरिसकेको छ । दसैँका लागि टुकुचा खसी बजार, हरिहर भवनस्थित पशु सेवा विभागको चाडपर्व लक्षित पशुपक्षी बजार सञ्चालनमा रहेका छन् ।
कलंकीको खसी बजारका व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडा कलंकी खसी बजारमा विगत ३१ वर्षदेखि सञ्चालनमा रहेको र खाद्यले समेत खसी बोका विक्री नगरेसँगै चुनौती थपिएको बताए । त्यसलाई मध्यनजर गर्दै काठमाडौंवासीलाई सहज र सुलभ तरिकाले उपलब्ध गराउने भन्नेबारेमा तल्लीन रहेको बताए । काठमाडौँको माग पूरा गर्न देशका विभिन्न ३५ जिल्लाहरूबाट खसीबोका ल्याइरहेको बताए ।
पहिरो र सडकको अवस्थाले सय भन्दा बढी खसी,बोकाहरू सडकमै मरेको बताए । व्यापारीहरू त्यसबाट चिन्तित रहेको बताए । अघिल्लो वर्षको तुलनामा खसी,बोकाको मूल्य खासै नबढेको बताए । विगत वर्षहरूमा पनि खाद्यको भन्दा सस्तोमा खसी, बोका उपलब्ध गराएको दाबी गरे । मूल्यमा खासै उतारचढाव नआउने र खाद्यले नल्याउँदा पनि मूल्य विगतकै कायम राखेर सहज रूपमा विक्री गर्ने व्यवस्था मिलाएको बताए ।
गत वर्ष करिब २५ हजार खसीबोका, दसैँमा विक्री भएको र अहिले पनि त्यहीअनुसारको व्यवस्थापन मिलाइएको बताए । सडकहरू अवरुद्ध नभएको खण्डमा मात्रै त्यो माग पूरा गर्नसक्ने बताए । सडक अवरुद्ध भएको खण्डमा उपत्यकाको माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए ।
खसी व्यापारी सन्तोषबहादुर खत्रीले बजारमा खसी बोकाहरू प्रशस्त खसी बोकाहरू रहेको र १० हजार भन्दा बढी खसी बोकाहरू रहेको बताए ।
बजारको माग पनि राम्रो रहेको बताए । विगतकै मूल्यमा खसीबोका बेचिरहेको बताए । बाटोको समस्याले खसी बोका आयात गर्न कठिनाइ भइरहेको बताए । त्यस्तै अर्को व्यापारी बलराम कुँवरले दसैँमा बाटोका कारणले खसी बोका आयातमा कम भइरहेको बताए । बसबाट थोरै संख्यामा खसीबोका ल्याउन सहज गर्न पनि माग गरे ।
प्यासेन्जर गाडीमा खसी हाल्न नपाएपछि उपत्यकामा खसीको अभाव हुने बताए ।
खसी बजारमा जिउँदो खसीको मासु प्रतिकेजी ६ सय ७० रुपैयाँदेखि ७ सय ३० रुपैयाँसम्म रहेको छ । त्यस्तै जिउँदो बोकाको मूल्य प्रतिकेजी ६ सय ५० देखि ७ सय ३० सम्म रहेको छ । त्यस्तै जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ४० देखि १ हजार ३ सय रुपैयाँसम्म रहेको छ ।








