राजनीतिक कनेक्सनले रोकिएका अपराध अनुसन्धानको काम तत्काल अघि बढ्छ: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरू तत्काल अघि बढ्ने बताएका छन् ।
शुक्रवार अपराह्न नक्सालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवर्द्धनका लागि पहिलो सर्तको रूपमा सो कामलाई अघि बढाउने बताएका हुन् ।
मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्सनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहोर्याए । त्यस अवसरमा उनले आफूले प्रचलित कानुन बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताए । सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाई थियो ।
उनले भने ‘अब सुशासनको मामिलामा केही फड्को मार्नुपर्छ । सुशासन दिन नसकेको हुनाले यो भन्दा अगाडि सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बिचैमा भङ्ग भयो । त्यसैले सुशासन पहिलो सर्त हो । यो सुशासनलाई हामीले कसरी प्रवर्द्धन गर्ने । थप अझै यसमा हाम्रो प्राथमिकताहरू के हुनुपर्छ तत्काल । र खास गरेर केही राजनीतिक कनेक्सनको आधारमा सुशासनमा जसरी अवरोध आयो विगतमा । कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, भ्रष्टाचारको विषयहरूमा । जुन खालको अवरोध आइराखेको थियो । त्यो अवरोध अव हामीले फुकाउनु पर्छ भन्ने सन्दर्भमा मेरो त्यो आफ्नो अपेक्षा थियो । त्यो अपेक्षा अनुसारको निर्देशनहरू मैले यहाँ दिएको छु । बाँकी त अब यो कानुन बमोजिम हुनेकुरा हो । अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनुपर्ने हुन्छ प्रचलित कानुन बमोजिम । रोकिनु नपर्ने विषयहरू यदि रोकिएका छन् भने र, कुनै नयाँ सुरुवात गर्नुपर्ने विषयहरू छन् भने त्यसलाई तुरुन्त अगाडि बढाउनुपर्छ भन्ने मेरो निर्देशन पनि भएको छ । यहाँ धेरै विषयवस्तुहरू छन् । मैले एउटा विषयवस्तु मात्रै मन्त्रीको हिसाबले निर्देशन दिने अपेक्षा राख्ने गरेर हुँदैन । यहाँ धेरै विषयहरू छन् सुशासनका लागि एउटा विषयमा मात्रै ध्यान दिएर हुँदैन । समग्र विषयमा ध्यान दिनुपर्छ । र बीचमा त अव हामीले सहकार्य गर्नका लागि पहिला वस्तुस्थिति बुझ्नुपर्यो । अव कसरी अगाडि बढ्ने भन्ने कुराको पर्याप्त छलफल भएको छ आज । पोलिटिकल कनेक्सनको आधारमा जे कुराहरू रोकिएको थियो । जे कुराहरू बिथोलिएको थियो । अव त्यस्तो हुँदैन । किनभने हाम्रो म्यान्डेट नै, यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिँदैन नि । त्यसकारण हामीले सुशासन त दिनैपर्छ । हाम्रो म्यान्डेट नै हो ।’
गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए ।








