तुइन खोलाको पहिरो हटाउन आवश्यक भन्दा बढी उपकरण परिचालन गरेका छौँ : मन्त्री घिसिङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलिङ–नारायणगढ सडकखण्डको तुइन खोला ठुलो पहिरो गएको र हटाउनका लागि आवश्यक भन्दा बढी नै उपकरण परिचालन गरिएको बताएका छन् ।
पटकपटक त्यहाँ पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठुलो सुख्खा पहिरो खस्दा सडक सञ्चालनमा अवरोध सिर्जना भएको उनले बताए ।
उनकाअनुसार पहिरो खसिरहने भएकाले राति काम गर्न सकिने अवस्था छैन, ठुलो जोखिम छ । आजदेखि पानी परेन भने राति पनि काम गरेर भोलि बिहानसम्ममा सडक निर्बाध रूपमा सुचारु गरिने उनको भनाइ छ । घिसिङकाअनुसार पहिरोले सम्पूर्ण यातायात अवरुद्ध भने गरेको छैन । वैकल्पिक रूपमा कान्ति पथ र त्रिभुवन राजमार्ग सुधार गरेर सञ्चालनमा ल्याइएको छ भने बिपी राजमार्ग र कोदारी राजमार्ग निर्बाध चलिरहेका छन् ।
उनअनुसार एक डेढ महिनादेखि रोकिएका धेरै मालबाहक कन्टेनरहरू सीमा नाकाबाट पास भइसकेका छन्, अहिले निर्बाध रूपमा सञ्चालन भइरहेको छ ।
मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । सरकारले मुलिङ–नारायणगढ सडकखण्डलाई प्राथमिकतामा राखेर यथाशीघ्र यातायात सहज बनाउने तयारी अघि बढाएको उनको भनाई छ ।
मन्त्री घिसिङले भने ‘बाढीपहिरोको विपद् आएको छ । मुख्य राजमार्ग मुग्लिङदेखि नारायणगढ रुटमा धेरै ठुलो पहिरो गएको छ । हामीले पहिरो पन्छाएर पनि खुलाएका थियौँ । दोस्रो पटक त्यो भन्दा पनि ठुलो पहिरो गएको छ । सुख्खा पहिरो जुन गएको छ, त्यसले गर्दा ठुलो समस्या आएको छ । हामीले उपकारणहरू चाहिने भन्दा बढी प्रयोग गरेकै छौँ । त्यो भन्दा धेरै प्रयोग गर्न सकिँदैन । पहिरो खसिरहने राति काम गर्न नसकिने, एकदमै ठुलो रिक्स त्यहाँ भएको छ । त्यसलाई हामीले दिनमा मात्रै काम गर्नुपर्ने स्थिति छ । आजदेखि हामीले पानी परेन भने राति पनि काम गर्नेछौँ । आज राति, भोली बिहानसम्ममा क्लियर हुनसक्छ । पहिरोका कारण सबै ब्लक भएको छैन । हामीले कान्तीपथ र त्रिभुवन राजमार्ग सुधार गरेर बाटो खुलाएका छौँ । बिपी राजमार्ग चलिरहेको छ । कुनै समस्या छैन । दिन रात चलिरहेको छ । कोदारी राजमार्ग पनि खुलेको छ । अहिले एक डेढ महिनादेखि हाम्रो धेरै मालबाहक कन्टेनरहरू बोर्डरमा बसेका थिए । ती सबै पास भइसकेको छ । अहिले निर्बाध रूपमा चलेको छ । मुख्य समस्या भनेको अहिले मुग्लिङ–नारायणगढको समस्या हो । तुईन खोलामा ठुलै पहिरो गएको छ ।’
मन्त्री घिसिङकाअनुसार पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड दुईतर्फी सञ्चालनमा छ । कहिले काहीँ समस्या आउनसक्छ तर समस्या आएपनि तत्काल खुलाउने हिसाबले अघि बढेको उनले बताए ।








