माओवादी केन्द्रको केन्द्रीय समिति विघटन गर्ने तयारी, प्रचण्ड संयोजक बन्ने !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आगामी केन्द्रीय समिति बैठकमा लैजाने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

पार्टीका प्रवक्ता अग्नि सापकोटाका अनुसार नयाँ प्रस्तावअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिनेछ । यो प्रस्ताव आगामी ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश गरिने बताइएको छ ।

सापकोटाले जानकारी दिएअनुसार, बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे विस्तृत ब्रिफिङ गरेका थिए । त्यसपछि सबै पदाधिकारीहरूले आ–आफ्नो धारणा राखेका थिए ।

‘सरकारले घोषणा गरेको फागुन २१ गतेको मध्यावधि निर्वाचन निर्धारित मितिमै हुनुपर्ने निष्कर्षमा पार्टी पुगेको छ,’ सापकोटाले भने, ‘पार्टीले त्यसका लागि आवश्यक भूमिका खेल्नेछ ।’

बैठकमा पार्टी नेतृत्वको हस्तान्तरण, विचार, विधि र प्रक्रियाका विषयमा पनि प्रारम्भिक छलफल भएको जानकारी दिँदै सापकोटाले अगामी योजनाबारे विस्तृत प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको बताए ।

बैठकले देशको वर्तमान परिस्थिति गम्भीर रहेको निष्कर्ष निकाल्दै ‘देशभक्त, लोकतान्त्रिक र परिवर्तनका पक्षधर सबैलाई एकताबद्ध भएर अघि बढ्न’ अपिल गर्ने निर्णयसमेत गरेको छ ।

यो निर्णयसँगै माओवादी केन्द्र संरचनात्मक रूपान्तरणतर्फ उन्मुख भएको संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =