जेनजी आन्दोलनमा गोलीकाण्ड : ओलीको दाबीमाथि छानबिन गर्न एमाले युवा नेताको माग

काठमाडौं । जेनजी आन्दोलनमा भएको गोलीकाण्ड र युवाहरूको मृत्यु प्रकरणले पुनः एक पटक राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गोली चलाउने आदेश नदिएको र युवाहरू प्रहरीको गोलीबाट नमारिएको भनी गरेको दाबीलाई नेकपा एमालेका नेताहरूले जोडतोडका साथ उठाएका हुन् ।

ओलीको यो दाबीलाई लिएर नेकपा एमालेभित्रैबाट छानबिनको माग उठेको छ । एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले ओलीको भनाइलाई ‘अत्यन्त गम्भीर विषय’ भन्दै तत्काल छानबिन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै रिजालले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्रीले नै ‘गोली चलाउने सरकारको आदेश थिएन, युवाहरू मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नु अत्यन्त गम्भीर विषय हो ।’

रिजालले वर्तमान सरकारले हत्या, आगजनी र लुटपाटका घटनाहरूको छानबिन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गर्नुपर्नेमा अलमल गरेको भन्दै प्रश्न उठाएका छन् । उनले सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै, ‘युवाको रगत, सार्वजनिक तथा निजी सम्पत्तिको अपूर्व नाश र देशको प्रतिष्ठाको लिलामीलाई सत्ता प्राप्तिको भर्‍याङ नबनाइयोस् !’ भनी चेतावनी दिएका छन् ।

यसैगरी, एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि ओलीको भनाइलाई समर्थन गर्दै भदौ २३ गते सरकारले प्रहरीलाई गोली चलाउन आदेश नदिएको दाबी दोहोर्‍याएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै प्रहरीलाई तीनवटा आदेश मात्रै दिइएको उल्लेख गरेका छन्, ‘हतियार जोगाउनु, बर्दी जोगाउनु र ज्यान जोगाउनु/गोली नचलाउनु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =