जेनजीको आवरणमा हिंसा भड्काइयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंस मच्चाउने गतिविधि भएको बताएकी छन् ।
शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले यस्तो बताएकी हुन् ।
उनले आन्दोलनबाट ठुलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन् । उनीहरू बस्ने भौतिक संरचनाहरू बनाउनुपर्ने आवश्यकता रहेको पनि बताइन् ।
शान्तिपूर्ण ढंगले आफ्ना मागहरू राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेन जीको आवरणमा हिंसात्मक विध्वंस मच्चाउने काम भएको बताइन् । यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने बताइन् । राष्ट्रिय सम्पत्तिको यसरी विध्वंस गरेर देशको विकास नहुने जिकिर गरिन्।
उनले भनिन् ‘नेपाल प्रहरीको ठुलो क्षति भएको छ । यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरूलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनुपर्छ । २३ गतेको घटना सामान्य रूपमा हेरेको हो । नयाँ पुस्ता जसलाई जेन जीको रूपमा परिभाषित गरेका छन् । उहाँहरू शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो । त्यो स्थिति रहेन । उहाँहरूले पनि प्रशासनसँग पनि शान्तिपूर्ण रूपमा प्रदर्शन गर्छौँ भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन । तर जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंस मच्चाउने गतिविधि भयो । यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ । जे भयो यो एकदमै गलत भयो । शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरूप्रति कसरी प्रहारहरू भयो त्यो पनि बुझ्नुपर्छ । कतापटिबाट सुरु भयो भन्नेकुरा । कसरी अचानक रूपमा आयो । राष्ट्रिय सम्पत्तिको यसरी विध्वंस गरेर देशको विकास चाँडै हुँदैन ।’
उनले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताइन् । आवेग, उत्तेजना भन्दा माथि उठेर राष्ट्रिय भावना र सर्वोपरि हित हुनेगरी काम गर्नुपर्ने बताइन् । बदला र प्रतिशोधमा कोही जान नहुने बताइन् ।








