काँग्रेसको माग- जेनजी आन्दोलनका लुटपाटको घटना छानबिनका लागि छानबिन आयोग गठन गर्नुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसले जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटको घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शुक्रवार आगजनीले खण्डहर बनेको पार्टी पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समिति समितिको बैठकले सो माग गरेको हो ।
खर्बौँको सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिएको सो घटनाप्रति निन्दा र भर्त्सना गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सो आयोग तत्काल गठन गर्न सरकारसँग माग गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा। आरजु राणा देउवामाथि अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको पनि कडा शब्दमा निन्दा गरेको छ ।
सभापति देउवा दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । नेपाली काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षार्थ विभिन्न राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवालाहरूसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सङ्कल्प पनि गरेको छ ।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले भने ‘निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी तथा लुटपाटबाट खर्वौँको सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिएको घटनाप्रति कार्य सम्पादन समितिको यो बैठक कडा शब्दमा निन्दा र भर्त्सना गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछ ।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व गर्ने मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्था उचित निकास पनि यही संविधान भित्र खोज्न सकिन्छ भन्ने हाम्रो दृढ विश्वास अझै रहेको छ । संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनैपनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ भन्ने हाम्रो विश्वास छ ।
वर्तमान संविधानको संरक्षण र पालनासँगै मुलुकको सफलता र देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प गर्दै यस्तो चुनौतीपूर्ण अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षार्थ नेपाली काँग्रेस विभिन्न राजनीतिक दल, नागरिक समाजलगायत सबै सरोकारवालाहरूसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दछ । भाद्र २३ र २४ गते जेनजी अर्थात् नयाँ पुस्ताको प्रदर्शनले अघि सारेका मुद्दाहरू भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति एवम् सामाजिक सञ्जाल सुचारु गर्ने जस्ता जायज मागलाई आत्मासात गर्दै कार्य सम्पादन समितिको यो बैठक तिनलाई विधिवत् रूपमा सम्बोधन गर्न नेपाली काँग्रेस सदैव प्रतिबद्ध रहेको ठहर गर्दछ ।
लोकतन्त्रका लागि आजसम्म अविचलित संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको नेपाली काँग्रेस कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ । र, साथै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । अन्त्यमा बदलिएको परिस्थितिमा पार्टीलाई थप सबल, सुदृढ र। गतिशील बनाउँदै लैजानुपर्नै ऐतिहासिक दायित्वलाई हृदयंगम गर्दै सबैलाई संयम र एकताबद्ध राख्न स्वदेश तथा विदेशमा रहेका हाम्रा सदस्य, समर्थक, शुभचिन्तक र समस्त नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरूमा पुनः हार्दिक अपिल गर्दछ ।’
नेपाली काँग्रेसले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै अझै सबल, सुदृढ र एकताबद्ध भएर अघि बढ्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरेको छ ।








