राप्रपाले भन्यो : राजतन्त्र स्थापना हुने सम्भावना प्रबल छ, कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै राजनीति शक्तिहरुबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग राखे ।

उनले देशमा यति ठुलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने जिकिर गरे । संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको बताए । अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठुलो परिवर्तन पुस्तान्तरण भएको बताए । राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा सतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ ।

राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको छ । सरकार मात्रै परिवर्तन गरेर जेन जीको बलिदान सफल र पूर्ण नहुने स्पष्ट पारेको छ ।

उनले भने ‘यो सरकारले सबै राजनीति शक्तिहरूका बीचमा एउटा नयाँ समझदारी कायम गरेर देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी बनाउनैपर्दछ । त्यो नै मुलुकको विकास हो । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो पहिलो पार्टी हो, जसले यो संविधानले काम गरेन, यो संविधानले यो देशको समस्या समाधान गर्न सक्दैन, यो संसदको पनि औचित्य समाप्त भयो । किनभने देशमा यति ठुलो समस्या आउँदा संसदले निकास दिन सकेन । संसद देश बर्बादीको साक्षी मात्रै बन्न थाल्यो, यसको औचित्य छैन भनेर राजीनामा दिएको राप्रपाले यही संसद पुनः स्थापनको परिकल्पना गर्दैन । संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु हो । अहिलेको जेन जी विद्रोहले ल्याएको सबैभन्दा ठुलो परिवर्तन भनेको पुस्तान्तरण हो । नेपालको राजनीतिमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएको जबरजस्त पुस्तालाई जबरजस्त विस्थापन गरेको छ ।’

अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रबल बनेको बताए । उनले जेन जी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभई भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताए । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको बताए ।

चाँडै नेपाली जनताले महसुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रूपमा पुनः स्थापित गर्नेमा आफू विश्वस्त रहेको बताए । सबै शक्तिहरूका बीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्ने बताए ।

अध्यक्ष लिङदेनले प्रदेश सरकारमा पनि राप्रपा सांसदहरूले राजीनामा दिने बताए । प्रदेश सभा खारेज भएर जानुपर्ने बताए । एउटा सरकार परिवर्तन गर्नेकुरा मात्रै आन्दोलनको उद्देश्य नभएको बताए । अन्तरिम सरकार आफैँ संविधान बाहिरबाट आएपछि संविधान मरिसकेको बताए । अहिलेको सरकारले आँट गरेर जेन जी आन्दोलनको भावनाअनुसार प्रणालीमै सुधार गर्ने आँट गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =