‘समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छ’

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका छन् ।
बिहीबार नवनियुक्त गृह एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको बताएका हुन् ।
उनले आयोगलाई काम गर्नबाट पन्छिने छुट नरहेको उल्लेख गर्दै निष्ठा माथि प्रश्न गर्ने ठाउँ नदिने प्रतिबद्धता पनि जनाए । शान्ति सुरक्षा विना निर्वाचन सम्पन्न गर्न नसकिने स्थिति तर्फ सरकारको ध्यानाकर्षण गर्दागर्दै मुलुकमा शान्ति सुरक्षाको स्थिति खलबलिएको अवस्थामा पुगेको उल्लेख गर्दै उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताए ।
कानुन बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूको सहभागिता हुने र राजनीतिक दल तथा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरूलाई समेत बिना अवरोध निर्बाध रूपमा प्रचार प्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
उनले भने ‘काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन । निर्वाचन आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार छ । त्यो प्रयोजनका लागि पूर्वतयारी हामीले सुरु गरिसकेका छौँ । त्यसमा हामी सबै कर्मचारी साथीहरू खटिसक्नुभएको छ । सबै जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालयमा तयारी भइसकेको छ । पूर्ण प्रतिस्पर्धात्मक रूपमा निर्वाचनको सामान खरिद गर्न सक्यौँ भने स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन गर्ने र अतिमितव्ययी निर्वाचन गर्ने र निर्वाचन आयोगको निष्ठामा कसैले शंका गर्न दिनेछैनौँ । मुलुकमा शान्ति सुरक्षाको स्थिति खलबलिएको छ । यो सबै जानेकै विषय हो । सुरक्षाकर्मी बस्ने कतिपय भवन छैन । सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कति ठाउँ क्षतविक्षत छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याइदिएमा कानुनमा रहेका बाधाहरू हटेर मतदाता संकलन लगायत कार्यसम्पादनमा सहज हुने बताए ।








