ठुला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भयो : पुरञ्जन आचार्य

काठमाडौँ । वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठुला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।
ठुला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरू असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताएका हुन् ।
उनले नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरू असफल भएको प्रमाण रहेको जिकिर गरे । काँग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरूले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसकेको बताए । आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शीर्ष नेताहरू राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताए ।
जेन जी आन्दोलन शीर्ष नेताहरूको नेतृत्वको असफलतामै टेकेर भएको बताए । पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादीको नेतृत्वबाट पुष्पकमल दाहालले छोड्न नसकेको बताए ।
उनले भने ‘उनीहरूको नेतृत्वमा डेमोक्रेसी असफल भएको छ । उनीहरूको विरुद्धमा जनता सडकमा निस्किएका छन् । जसको सरकार हुँदा गोली चलेको छ । एकातिर काँग्रेस र एमालेले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो । आन्दोलनमा टेकेर यत्रो अपराध भएको छ, तोडफोड भएको छ, हत्या भएको छ । उनीहरू राजकाज चलाउन पूर्ण रूपमा फेल भए । जेसुकै कारणले होस् । आम जनतको लागि यो सरकार पूर्ण रूपमा फेल भयो र जे जस्तो घटना भयो, त्यो उनीहरूको असफलतामा टेकेर भएको हो । त्यस्तै सत्ता बाहिर रहेको माओवादी पार्टीका नेताले त उहिल्यै झन् राजीनामा दिनुपर्ने हो । किनभने दुब्लाएर हात्तीबाट मुसा भइसक्यो तर पनि पार्टीको नेताले नेतृत्व छोडेका छैनन् । यी तीन जनै नेताहरूले आफ्नो ढंगले जति हामीले गगर्याैँ,अब हामीलाई बिदाबारी दिनुस् भनेर गइसक्नुपर्ने हो । कार्यकर्ताको चेत खुल्ने हो भने त्यो गर्ने हो । होइन भने दासत्व स्वीकार गरेर बस्ने ।’
उनले कार्यकर्ताहरूले सचेततापूर्वक शीर्ष नेताहरूलाई पार्टीबाट अब बिदाइ गर्नुपर्ने बताए ।








