जनकपुरधाममा दशैँ मेलाका लागि तयारी तिब्र

काठमाडौँ । जनकपुरधामका दशैँ मेलाका लागि तयारी तिब्र पारिएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी शुरु हुन केही दिन मात्रै बाँकी रहेकोले दशैँ मेलाको लागि तयारी तिब्र पारिएको हो । दशैँलाई भव्य बनाउन यहाँका स्थानीय युवा क्लवहरु अहोरात्र खटिरहेका छन् ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहितका स्थानमा दशैँमा शक्तिस्वरुपा माता दुर्गाको पूजा अराधनाका गर्ने गरिएको छ । हाल उक्त पूजास्थलहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान, सरसजावट गर्ने तयारी चलिरहेको छ । श्रीराम युवा कमिटी महासचिव विजय साहले दशैँलाई भव्य बनाउनको लागि तयारी गरिरहेको जानकारी दिए ।

उनले दशैँ मेलाको लागी स्थानिय व्यापारीहरुसँग आर्थिक सहयोग उठाएर मन्दिर तथा शक्तिपिठहरुको सजावट गर्ने बताए । उनले जेनजी आन्दोलनले दशैँलाई कुनै असर नगर्ने पनि बताए । आन्दोलन स्वरुप देशले नयाँ अन्तरिक सरकार पाईसकेकोले अब देश शान्तिपूर्ण भइसकेको बताए ।

उनले भने ‘जीएनजी आन्दोलन स्वरुप नयाँ अन्तरिक सरकार हामीले पाईसकेका छौँ । अब देश नयाँ दिशामा गईसकेको छ । शान्तिपूर्ण अवस्थामै अबको दिन जानेछ । त्यसकारणले अब हाम्रो दशैँको उत्साह, यो मेलाको उत्साह र यसको तयारीमा कुनै पनि प्रभाव हुन दिने छैनौ । हामीहरुले आफ्नो स्तरले, समितिको स्तरले तथा बजारका व्यापारीहरुसंग जुन चन्दा कलेक्सन हामीहरु गर्छौ, जुन सहयोग लिन्छौँ, त्यसबाट नै हामीहरु सरसापट गर्छौँ । त्यसमा पनि हाम्रा यहाँका व्यापारीहरु सहयोग गर्ने नै हुनेछ ।’

महावीर युवा कमिटी अध्यक्ष दीपक साहले भने जेनजी आन्दोलनले दशैँ मेलामा आर्थिक संकलन गर्न कठिन भएको बताए । आन्दोलनका कारण व्यवसाय ठप्प भएको उनको भनाई छ । आर्थिक सहयोग गर्न हाल सबै दाताहरु पछाडी हटेको उनले बताए ।

उनले भने ‘आन्दोलनले केही समस्या भएको छ । मेलाको आर्थिक व्यवस्था बजारबाट गर्ने गरेका थियौँ । यो स्थितिका कारण सबै दाताहरु पछि हटेका छन् । व्यवासायीहरु सटर खोलेर बसेका छन् तर उपभोक्ता छैनन् । यसले हामी चिन्तित भएका छौँ ।’

जनकपुरधाममा प्रत्येक वर्ष दर्जनौ स्थानमा दशैँ मेला लाग्दै आइरहेको छ । राजदेवी मन्दिर, बौधीमाई मन्दिर अतिरिक्त विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोक लगायतका स्थानमा लक्ष्मीको प्रतिमा स्थापना गरेर दशैँ मेलाको आयोजना गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 8 =