प्रधानमन्त्री कार्कीको प्रश्न: सरकारी संस्थामा आगजनी गर्नेलाई नेपाली कसरी भन्ने ?

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यावश्यक संस्थाहरूमा छानिछानी गरेर आगजनी गरिएको बताएकी छन् ।

आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरूमा गरिएको आगजनी पूर्वनियोजित षड्यन्त्रजस्तो देखिएको बताइन् ।

उनले भनिन्, ‘यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरू छन्, त्यसमा छानीछानी प्रहार भएको छ । प्रहरी चौकी, अदालत, सिंहदरबारभित्रका फाइलहरूसमेत जलेर नष्ट भएका छन् । यस्तो काम नेपाली भएर कसले गर्छ ?’

प्रधानमन्त्री कार्कीका अनुसार सर्वोच्च, उच्च र जिल्ला अदालतमा रहेका मिसिल, कागजपत्रहरू नष्ट हुँदा देश शून्यबाट सुरु गर्नुपर्ने अवस्था आएको छ ।

‘भौतिक संरचना बनाइन्छ, तर कागजात, प्रमाण नष्ट हुँदा देशको शासन प्रणाली नै संकटमा पर्छ,’ उनले भनिन्, ‘यसले हामीलाई अनुहार देखाउन नसक्ने बनाएको छ ।’

प्रधानमन्त्री कार्कीले यस्तो घटनालाई देशकै इतिहासमा पहिलो पटक भएको उल्लेख गर्दै गहिरो चिन्ता व्यक्त गरिन् ।

‘मलाई यो देखेर लाज लागेको छ । नेपाली भएर यस्तो कार्य गर्ने हो भने कसरी तिनलाई नेपाली भन्ने ?’ उनले प्रश्न गरिन् । उनले यस्तो विध्वंसकारी गतिविधि पूर्वतयारीसहितको षड्यन्त्र भएको आशङ्का व्यक्त गर्दै दोषीलाई छोड्न नहुने बताइन् ।

‘अनुसन्धान गरेर अपरिहार्य वस्तुहरू माटोमा मिलाउनेहरूलाई कारबाही हुन्छ,’ उनले थपिन् ‘षड्यन्त्र भयो कि भन्ने शंका’

प्रधानमन्त्री कार्कीले यो घटनाक्रम षड्यन्त्रपूर्वक गरिएको हुनसक्ने बताउँदै भनिन्, ‘मलाई लाग्छ, पूर्वतयारीअनुसार षड्यन्त्र नै भएको हो कि भन्ने शंका छ ।’

उनका अनुसार प्रहरीका बिटहरू, अदालत, सिंहदरबारलगायतका संवेदनशील निकायमा भएको आगजनीबाट शासन प्रणाली नै गम्भीर संकटमा परेको छ ।

भदौ २४ गते ‘जेनजी’ नाम दिइएको आन्दोलनको क्रममा विभिन्न सरकारी संस्था, राजनीतिक दलका कार्यालय, निजी व्यवसाय र सर्वसाधारणका घरहरूमा समेत आक्रमण र आगजनी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =