आचारसंहिता बनाएर सदाचार नीति कार्यन्वयन गर्नुपर्नेमा जोड

काठमाडौं । आचारसंहिता बनाएर सदाचार नीतिलाई कार्यन्वयन गर्न सांसदहरूले जोड दिएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको सोमवार बसेको बैठकमा भएको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथिको छलफलमा उनीहरुले आचारसंहिता बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सांसद वामदेव गौतमले सदाचार नीति अवलम्बन गरेको÷नगरेको निगरानी गर्ने पक्ष जनतालाई बनाउनुपर्ने बताए । त्यसका लागि सदाचार नीति आचारसंहिता बनाउनुपर्नेमा उनले जोड दिए ।
उनले आचारसंहिता बनाउँदा शपथग्रहन गराउने किसिमको बनाउनुपर्ने उल्लेख गरे । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू, सबै निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, कूटनीतिक क्षेत्रका व्यक्तिहरू लगायत उनीहरूको परिवारमा समेत आचारसंहिता लागू गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘सदाचार नीति अवलम्बन गरेको÷नगरेको कसले निगरानी गर्ने, कसले त्यसको जाँच गर्ने । त्यो पक्ष चाहिँ यहाँ खाली छ । त्यो पक्ष नेपाली जनतालाई बनाउनुपर्छ । त्यसो भएर आचारसंहितामै जानुपर्छ । सदाचार नीतिका आचारसंहिता बनाउँ । आचारसंहिता बनाउँदाखेरी धेरै त्यस्ता शपथग्रहण गराउने किसिमको चाहिँ त्यो बन्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू, सबै निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू, कुटनितिक क्षेत्रका व्यत्तिहरु पहिलो पटक पदमा आसिन गर्दाखेरी यहाँसम्म की परिवारमा समेत यो आचारसंहिता पठाउनुपर्छ । कस्तो किसिमको व्यक्ति निर्माण गर्न चाहन्छौँ हामी परिवारबाट शुरु हुन्छ ।’
नेकपा (माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले राज्य सञ्चालन गर्ने, नीति निर्माण गर्ने सबै व्यक्तिहरू सदाचारितामा रहनुपर्ने बताए । राज्य संचालन गर्ने व्यक्तिको व्यवहारले सदाचार देखिने उनको भनाई छ । सदारको मूल्याङ्कन जनताले गर्ने उनले बताए ।
सांसदहरू पूजा चौधरी, नारायणदत्त भट्ट, सारदादेवी भट्ट, सावित्रि मल्ल, बिष्णुबहादुर विश्वकर्मा, घनश्याम रिजाल लगायतले सदाचार नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।








