एमालेमा विधान महाधिवेशनको राप : ९ समूह बनाएर थालियो प्रतिवेदनमा मन्थन

गोदावरी । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि समूहगत छलफल प्रारम्भ भएको छ ।
सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले पनि आफ्नो प्रतिवेदन पेस गरेका थिए । महाधिवेशनको पहिलो दिन यी महत्वपूर्ण प्रतिवेदनहरू पेस भएपछि दोस्रो दिनदेखि ९ वटा समूह बनाएर प्रतिवेदनमाथि गहन छलफल सुरु गरिएको हो । यसअघि १० समूह बनाउने भनिए पनि ९ वटा समूहमा छलफल केन्द्रित गरिएको छ । प्रतिनिधिहरूले समूहगत रूपमा प्रतिवेदनका बुँदाहरूमाथि आफ्ना धारणा राख्ने र सुझावहरू संकलन गर्नेछन् ।
यसैबीच, एमालेले दोस्रो विधान महाधिवेशनका लागि मुलुकको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका लागि सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय महत्वपूर्ण समिति गठन गरेको छ । अध्यक्ष ओलीले घोषणा गरेको यस समितिमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरू उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल सदस्यका रूपमा रहेका छन् ।
समितिका संयोजक सचिव भट्टराईले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाका चासोबारे महाधिवेशनको धारणा तय गर्ने जानकारी दिए । प्रस्ताव तयारीका लागि समितिको बैठक आजै बस्दैछ।
विधान महाधिवेशनमा प्रतिवेदनमाथि हुने छलफल र समसामयिक राजनीतिक प्रस्तावको मस्यौदाले पार्टीको आगामी नीति तथा कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महाधिवेशनले एमालेको सांगठनिक सुदृढीकरण र राष्ट्रिय राजनीतिमा उसको भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।








