हनुमान ढोकामा लिङ्गो ठड्याइएसँगै सुरु भयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको महत्वपूर्ण तथा ऐतिहासिक चाड इन्द्रजात्रा बिहीबार हनुमान ढोका दरबार क्षेत्रको कालभैरव परिसरमा लिङ्गो ठड्याएर विधिवत रूपमा सुरु भएको छ । परम्परागत विधिअनुसार शुभसाइतमा इन्द्र ध्वजोत्थान गरिएसँगै ‘यें:न्यां पुन्ही’ अर्थात् इन्द्रजात्राको औपचारिक सुरुवात भएको हाे । 

भक्तपुरको चित्तपोलबाट ल्याइएको ३२ हात अग्लो लिङ्गोलाई भदौ १५ गते बिहान ९:५२ बजेको शुभ साइतमा भोटाहिटी हुँदै तानेर हनुमानढोका दरबार परिसरमा पुर्‍याइएको थियो । बिहीबार बिहान १०:३१ बजेको शुभसाइतमा वैदिक विधिपूर्वक उक्त लिङ्गो ठड्याइएको हो । यो लिङ्गोलाई इन्द्रध्वजका रूपमा पनि चिनिन्छ ।

इतिहासअनुसार, इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्परा राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । यस पर्वले काठमाडौं उपत्यकाको प्राचीन संस्कृति र धार्मिक आस्थालाई जीवन्त राखेको छ । लिङ्गो ठड्याउने कार्यसँगै अबको आठ दिनसम्म काठमाडौं उपत्यका इन्द्रजात्राको उल्लासमा रङ्गिनेछ ।

इन्द्रजात्राका अवसरमा कुमारी, गणेश र भैरवको रथयात्रा, विभिन्न देवीदेवताका पूजा-अर्चना, परम्परागत सांस्कृतिक झाँकी तथा नाचगानको समेत आयोजना गरिन्छ । विशेष गरी, यस अवधिमा लाखे नाच, पुलुकिसी (हात्तीको नाच) र सवःभक्कु (देवताको भेषमा गरिने नाच) जस्ता मौलिक प्रस्तुतिहरूले जात्रालाई थप आकर्षक बनाउँछन् ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाइने यो पर्वले धान रोपाइँ सकिएको र राम्रो फसलका लागि कामना गर्ने सन्देश बोकेको हुन्छ । जात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति रहने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =